काठमाडौं, मङ्सिर २६ गते । नेपाल हक्की सङ्घले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रमबिच मङ्गलबार सङ्घले वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
सङ्घले पुसमा हेटौडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । जनकपुरमा माघमा मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता र विराटनगरमा चैतको अन्तिम साता गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता गर्ने जानकारी दिइयो ।
मदन भण्डारी कप पहिलो पटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो । यस्तै बैशाख अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता गर्ने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार उक्त प्रतियोगिता हेटौँडा वा चितवनमा गर्ने योजना छ ।
यस्तै सङ्घले जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्नेछ । हक्कीलाई चलायमान बनाउन काठमाडौँ वा ललितपुरमा भेट्रान कप गर्ने र त्यसको मिति छिट्टै तय गर्ने जानकारी पनि महासचिव श्रेष्ठले दिनुभयो । उहाँले हक्कीलाई विस्तारै विभागीय टोली र विद्यालय स्तरमा प्रवेश गराउन सङ्घले पहल गरिरहेको पनि बताउनुभयो ।
सङ्घको पहिलो वार्षिक कार्यक्रमका रुपमा रहेको डिएनएसएस लेभल–२ प्रशिक्षक तालिम भने मङ्गलबार सम्पन्न भएको छ । लेभल–२ मा सहभागीलाई पाकिस्तानका अन्तर्राष्ट्रिय इन्स्टक्टर जाहिद अलीले प्रशिक्षण दिनुभएको थियो । नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको तालिमको समापनका अवसरमा सङ्घले वार्षिक कार्यक्रम घोषणा गरिएको हो । साताव्यापी तालिममा १९ जना प्रशिक्षक सहभागी थिए ।
तालिममा सहभागीलाई लाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले प्रमाण पत्र वितरण गर्नुभयो । सोही अवसरमा नेपालका पहिलो हक्की प्रशिक्षक अशोकराज पाण्डेलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष श्रेष्ठ र हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले पाण्डेलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
यसैबिच नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा एसियाली हक्की महासङ्घको बैठकमा सहभागी हुन मलङ्गलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । बैठक डिसेम्बर १५ र १६ तारिखमा हुनेछ । शर्मा महासङ्घका सल्लाहकारसमेत हुनुहुन्छ ।