• १६ असार २०८१, आइतबार

सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व : प्रमुख आयुक्त गुरुङ

blog

सोलुखुम्बु, मङ्सिर २६ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । 

राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले लोकतान्त्रिक पद्धतिमा सार्वजनिक निकायका क्रियाकलाप हरेक नागरिकले थाहा पाउने अधिकार भएकाले सूचनाको हक अझ महत्पूर्ण भएको बताउनुभयो । नियम सम्बद्ध तवरबाट मागिएका सूचना सार्वजनिक निकायले नदिएमा उजुरी परेका खण्डमा आयोगले त्यस्ता निकायलाई कारबाही गर्ने उहाँले बताउनुभयो । 

चार वर्षको अवधिमा आयोगले स्थानीय तहका १९ पदाधिकारीलाई कारबाही गरेको अवसरमा प्रमुख आयुक्त गुरुङले जानकारी दिनुभयो । कुनै पनि सार्वजनिक निकाय सूचनाको हकभन्दा माथि नरहेकाले सूचना प्रदान गर्नमा कन्जुस्याइँ नगर्न उहाँले आग्रह गर्नुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकलाई जतिसक्दो धेरै सूचना माग्ने वातावरण सृजना गर्नु कर्मचारीको दायित्व भएको बताउनुभयो । 

कानुनले निर्दिष्ट गरेका अधिकार नागरिकलाई उपलब्ध गराउने सवालमा जिल्लाका सबै कर्मचारी प्रतिबद्ध रहेका उहाँले उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया मगरले सूचनालाई अतिरञ्जित गर्न नहुनेमा जोड दिनुभयो । सूचनाको हकले नागरिकलाई विषयवस्तुबारे जानकारी गराए पनि सूचना दुरुपयोग हुने क्रम बढेको आभास भएको बताउनुभयो । 

सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले लोकतन्त्रको सबल पक्षमध्ये सूचनाको हक पनि भएकाले नागरिक सुसूचित हुनुपर्ने बताउनुभयो । “कार्यालयहरूले सूचना आदानप्रदान गर्दा गोपनीयताको हकको पनि ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो । सरकारी सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार भए पनि प्राप्त सूचनाको दुरुपयोग गर्न भने नहुने उहाँको भनाइ थियो । 

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका सचिव डिबी खालिङले सूचनाको पहुँचमा नागरिकलाई पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । रासस