• १५ मंसिर २०८१, शनिबार

विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

विद्यार्थीलाई न्यानो कपडा वितरण पश्चात् लिइएको सामूहिक तस्बिर ।

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २६ गते । गुल्मीमा ३८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन यूथ क्लब नेपाल गुल्मीले रेसुङ्गा नगरपालिका-३ को पृथ्वी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरी एक लाख रुपियाँ बराबरको न्यानो कपडा टोपी,  झोला, सुइटर र ट्र्याक वितरण गरेको संस्थाका जिल्ला सचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो । 

२०६५ सालमा काठमाडौँमा स्थापना भएको संस्थाले प्रत्येक वर्ष आफूहरूले न्यून आय भएका विद्यार्थीहरूलाई यसैगरी सहयोग गर्दै आएकाले यस वर्ष पनि सहयोग गरिएको भुसाललेको भनाइ छ । 

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यवाद व्यक्त गर्नुभयो। पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँदै वडाध्यक्ष बाबुराम खत्रीले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताउनुभयो । 

२०६७ सालमा जिल्लामा स्थापना भएको यो संस्था विभिन्न सामाजिक कार्यहरूमा अग्रसर छ । राधा माधव समिति गुल्मीले प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, असहायहरूको लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, गौ सेवा, सामाजिक सेवा मन्दिर सरसफाइ लगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ ।