• १० मंसिर २०८१, सोमबार

यु–१९ विश्वकप क्रिकेटको खेल तालिका परिवर्तन

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २६ गते । आगामी महिना हुने आइसिसी  यु–१९ विश्वकपको मिति परिवर्तन भएको छ । श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो ।  

प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना हुने भएसँगै खेल तालिका र मिति परिवर्तन भएको हो । नयाँ तालिका अनुसार विश्वकप जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुनेछ । यसअघि जनवरी १३ देखी ४ फेब्रुअरीसम्मलाई तय भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप खेल तालिका परिवर्तन गरेपनि समूह भने परिवर्तन भएको छैन । नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

अब विश्वकप जनवरी १९ देखी फेब्रअरी ११ सम्म हुने भएको छ । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र तेस्रो खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ । 

समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन् ।

नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो । विश्वकप तयारीका लागि युएईमा जारी एसिसी यु–१९ एसिया कपमा भने नेपाल समूहको सबै खेलमा पराजित भएको छ ।