• ६ माघ २०८१, आइतबार

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग

blog

देवरामप्रसाद यादव

सप्तरी, मङ्सिर २६ गते । सप्तरीको राजविराज १० स्थित विरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारुको माग राख्दै आजबाट सप्तरी यूथले तेस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । राजविराजमा र्याली प्रदर्शन पश्चात् कोणसभा गर्दै प्रधानमन्त्रीलाई नौ सय ९९ चिठ्ठी पठाउने लगायतका सातदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनसम्म राजविराज नगरपालिका टोलमा घरदैलो गरी सुझाव सङ्कलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  लाई  ९ सय ९९ वटा चिठ्ठी पठाउने सङ्घर्षका कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिनुभयो ।

गत मङ्सिर १० गते प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर आन्दोलन सुरु गरेका थिए । पहिलो चरणको आन्दोलनबाट सुनुवाइ नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर सङ्कलन गरेका छन् । निरन्तर आन्दोलनबाट माग सम्बोधन नभएपछि सातदिन भित्र नौ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ ।

०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर अहिलेसम्म डिपीआर निर्माण र घेरबार बाहेक अन्य काम भएको छैन ।