• १६ असार २०८१, आइतबार

सूर्यकुण्डको खानेपानी समस्यालाई समाधान गर्ने

blog

वराहक्षेत्र–१ को सूर्यकुण्ड क्षेत्रका स्थानीयसँग खानेपानीको विषयमा छलफल गर्दै नगर प्रमुख रमेश कार्की । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, मङ्सिर २६ गते ।
 वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्ड क्षेत्रमा गाउँले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न स्थानीय सरकार लागि परेको छ ।

वराहक्षेत्र नगरपालिकाले सूर्यकुण्ड क्षेत्रमा रहेका दुई सय घर परिवारले भोग्दै आएको खानेपानीको समस्याको हल गर्न स्थलगत रूपमै नगरका प्राविधिकसहित विस्तृत अध्ययन थालिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

नगरका प्राविधिकसहित पानीको मुहान र बस्तीमा पानी पुर्‍याउन लाग्ने बजेटको स्टीमेट प्राविधिकले तयार पारेपछि काम सुरु हुने नगर प्रमुख कार्कीले बताउनु भयो । चुरे क्षेत्रका स्थानीयले वर्षौँदेखि भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न वराहक्षेत्र नगरपालिका लागि परेको नगर प्रमुख रमेश कार्कीको भनाइ छ ।

नगरको चुरे क्षेत्रका बस्तीमा भालुखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गर्दै आएको थियो । हिले खोलाको मूललाई मिसाएर अर्चले, बाग्दलवारी, मूल गाउँ, सूर्यकुण्ड क्षेत्रका बस्तीमा र चावचामा पानी पुर्‍याउने वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

भालुखोलाको पानीबाट अर्चले, बाग्लदबारी र सूर्यकुण्ड क्षेत्र लगायतका ७० घरमा पानी वितरण गर्दै आएको छ । हिले खोलाको मूललाई भालुखोलाको मुहानसँग मिसाउँदा सूर्यकुण्ड क्षेत्रदेखि मूलगाउँ, चावचासम्म नै पानी वितरण गर्न सकिने अर्चले बाग्दलबारी भालुखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अमृत तामाङले बताउनु भयो ।

सोमबार बिहान पानीको मुहान, ट्याङ्की र स्थानीयहरूसँग छलफलका लागि नगर प्रमुख कार्कीसहित नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर राजु भट्टराई, इन्जिनियर नवीन खनाल र प्राविधिक पुण्य ढुङ्गेल सूर्यकुण्ड क्षेत्र पुग्नु भएको थियो ।