काठमाडौँ, मङ्सिर २६ गते । नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले मङ्गलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
अमिर ब्लोन र दीपक थापा पनि अन्तिम चारमा पुग्नुभयो । होङजाउ एसियाडमा नेपालको प्रतिनिधित्व गरेका अमिरले राजेन्द्र शाक्यलाई ११–५, ११–६, ९–११ र १२–१० तथा दीपकले ऋषभ चुरिवाललाई ११–६, ११–७ र ११–४ ले हराउनुभयो । अर्को खेलमा छविलाल पाइजा पुनले रोहन परियारलाई ११–६, ११–२ र ११–५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाउनुभयो ।
यसैगरी मास्टर्स ५० प्लस विधामा प्रज्वल प्रधान, लालबहादुर गुरुङ र छविलाल विजयी हुनुभयो । प्रज्वलले महेन्द्र वैद्यलाई १०–१२, ११–६, ११–६ र ११–८, लालबहादुरले जितेन्द्र जोशीलाई १६–१४, ९–११, ११–८ र ११–७ तथा छविलालले इन्द्रबहादुर कार्कीलाई ११–६, ११–५ र ११–९ ले पराजित गर्नुभयो ।
नेपाल स्क्वास र्याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु–१९, गल्र्स यु–१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।