• ११ मंसिर २०८१, मङ्गलबार

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

blog

काठमाडौँ, मङ्सिर २६ गते । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । 

बालअधिकारमा १३ बलात्कार, चार यौन दुर्व्यवहार, दुई बेचबिखनका रहेका छन् । यस्तै, महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बलात्कार, १३ घरेलु हिंसा, एक यौन दुर्व्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई–दुई वटा पाइएको जनाइएको छ । नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०) ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । 

नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको  हो । महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ । रासस