• २३ वैशाख २०८१, आइतबार

सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल

blog

नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २६ गते । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।

मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताउनुभएको हो ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गर्नुभयो । उहाँले १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताउनुभयो ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराउनुभयो ।

‘‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौँ । सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ । र सरकारले अहिले तयार गर्दै गरेको १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने योजना पनि भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘१६ औँ योजनाका लागि सुझावहरू दिने काम गरियो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्ने छ । हामीलाई नीति तथा कार्यक्रममा र अर्थ मन्त्रालयलाई बजेटमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सकिन्छ ।’’

मुख्यसचिव अर्यालले सङ्घीयतासम्बन्धी कानुन निर्माणको काममा सरकार लागेपनि सोचेअनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो ।