• १६ वैशाख २०८२, मङ्गलबार

बुलबुले तालमा आकर्षण बढ्दै

blog

घोडाघोडी नगरपालिका १० सामुदायिक वनमा रहेको बुलबुले ताल । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर २६ गते ।
कैलालीको घोडाघोडी नगरपालिका १० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ । बुलबुले सामुदायिक वन क्षेत्रमा रहेको उक्त प्राकृतिक ताल सानो भए पनि यसको विशेषता भने अद्भुत रहेको त्यहा पुग्ने जो कोहीले अनुभव गर्न सक्छ ।

तालमा पानीको फोका उठ्ने गर्दछ । मानिसले जति धेरै ‘बुलबुल’ भनेर चिच्यायो उति धेरै पानीका फोका जमिनमुनिबाट निस्केको दृश्य प्रष्ट देख्न सकिन्छ ।

सामुदायिक वन उपभोक्ता समितिले घेरबार गरेर तालको संरक्षण गरेको छ । चुरेको फेदी, कान्द्रा नदीको किनारमा रहेको उक्त ताल क्षेत्रमा जाडो समयमा पारिलो घाम लाग्नुका साथै फराकिलो चौर, नदीको तटीय क्षेत्रले बनभोजका लागि निकै आर्कषण मनिएको स्थानीय बताउँछन् । हिजो आज बिदाको दिनमा उक्त क्षेत्रमा वनभोज गर्न जानेको भिडभाड लाग्ने गर्दछ ।

बुलबुले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खडक बुढाले २०५७ सालमा दर्ता भएको सामुदायिक वनमा मुल फुटेर जमिनमाथि पानी फुल्का उठेको देखे पनि  व्यवस्थित संरक्षण गर्ने कार्य भएको बताउनुभयो । १७४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा करिब पाँचसय उपभोक्ताहरु सदस्य छन् ।

अध्यक्ष बुढाले बस्तीबाट टाढा एकान्त जङ्गलभित्र प्राकृतिकरुपमा रमणीय क्षेत्रमा पानी बुलबुल गर्दै फोका निस्कने भएपछि सामुदायिक वनको नाम नै बुलबुले राखिएको बताउनुभयो । उहाँले सोही तालको नाममा बुलबुले क्याम्पससमेत सञ्चालनमा रहेको जनाउनुभयो ।

तालको संरक्षण र पर्यटन क्षेत्रको रुपमा विकासगर्न सामुदायिक वनले मन्दिर निर्माण, घेरबार, खानेपानीको धारा निर्माण कार्य गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सात÷आठ वर्ष भयो, पिकनिक खान कैलालीका विभिन्न ठाउँबाट आउन थालेको, बस्तीबाट टाढा, एकान्त ठाउँमा भएकाले फोहाेर व्यवस्थापन, शौचालय निर्माण हुन सकेको छैन, नगरपालिकासँग शौचालय निर्माणका लागि माग गरेका छौ, व्यवस्थित भएपछि प्रवेश शुल्क लिने योजना बनाएका छौ ।”

कैलाली जिल्ला सामुदायिक वन र प्राकृतिक तालले धनी जिल्ला भए पनि बुलबुले ताल अन्य तालभन्दा फरक विशेषता भएको स्थानीय संरक्षणकर्मी पुष्कल बमले बताउनुभयो । उहाँले बर्षैभरी पानीको फोका उठेर पानी आइरहने बुलबुले तालमा जति मानिस हल्ला गर्‍याे उति नै धेरै फोका उठ्ने बताउनुभयो ।

बमले भन्नुभयो, “अहिले सामुदायिक वन समितिले मन्दिर बनाएर, तालको घेरबार गरी खानेपानीको धाराको व्यवस्थापनि गरेका छन्, यसले ताल हेर्न लायक बनेको छ भने वनभोज कार्यक्रमका लागि आकर्षक बन्दै गएको छ ।”