• १५ मंसिर २०८१, शनिबार

नगरपालिकालाई डबली हस्तान्तरण

blog

तानसेन समाचारदाता

तानसेन, मङ्सिर २६ गते । ‘श्रीनगर सांस्कृतिक डबली’ खुला नाचघर तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँ लागतमा निर्माण गरिएको डबली संरक्षण, सञ्चालन, व्यवस्थापनको अधिकारसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । 

यो डबली जिल्लाकै महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रूपमा रहेको छ । प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजार रुपियाँ लागतमा तानसेनको बतासेमा सांस्कृतिक डबली बनाइएको छ । विभिन्न जातजातिको कलासंस्कृति यस डबलीमा प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखी यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको डबलीको साँचो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेनका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । 

मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण एवं प्रवर्धन गर्न स्थानीय सरकारलाई डबली हस्तान्तरण गरिएको बताउनुभयो । डबली सञ्चालन गरेर नगरपालिका र आमपाल्पावासीले फाइदा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले डबलीको अधिकतम प्रयोग गरी फाइदा लिन नगरपालिकालाई आग्रह गर्नुभयो । उहाँले पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न डबली एउटा महत्वपूर्ण पूर्वाधार रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले पूरा गर्ने र अब डबली सञ्चालनलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । २०७६ साल असारदेखि सुरु भएको डबली चार वर्ष लगाएर २०७९ असारमा सम्पन्न गरिएको हो । 

सांस्कृतिक डबलीभित्र नाचघर, पाहुनाघर तथा विश्रामस्थल, शौचालय, नुहाउने स्थान, चिया, कफीको व्यवस्था रहेको छ । त्यस्तै तिनाउ गाउँपालिकास्थित नुवाकोटमा बनेको डबली भने हस्तान्तरण हुन सकेको छैन । प्रदेश सरकारले तिनाउ र तानसेनमा एकै पटक डबली निर्माण सुरु गरेको थियो ।