काठमाडौँ, मङ्सिर २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्य ाउन आग्रह गर्नुभयो ।
जनताको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न आग्रह गर्नुभयो । कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो । काेशी प्रदेश नामकरणमा एमालेसहित नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गर्नुभयो ।
प्रमुख गौतमले एमालेको यो अभियान जनताका मुद्दा सम्बोधन गर्ने अभियान भएकाले सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ ।