• ६ माघ २०८१, आइतबार

दुई सय त्रियानब्बे परिवारलाई लालपुर्जा

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर २६ गते । भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ । 

प्रमुख नापी अधिकृत सञ्जय मानन्धर, गाउँपालिकाका अध्यक्ष धीरेन्द्रराय यादव (विस्पत), वडाध्यक्ष रघुनाथ साहलगायतले पर्सा बजारस्थित गाउँपालिकाको कार्यालयमै कार्यव्रmम गरेर सबै परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो । स्थानीयलाई जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि २०६७ सालमै जग्गा नापजाँच भएको थियो । 

१३ वर्षपछि सम्पूर्ण प्रव्रिmया पूरा गरेर लालपुर्जा उपलब्ध गराइएको प्रमुख नापी अधिकृत मानन्धरले बताउनुभएको छ । वर्षौंको प्रतीक्षापछि जग्गाको प्रमाणपुर्जा पाउँदा नारायणपुरवासी दङ्ग परेका छन् । 

गाउँब्लक जग्गाको लालपुर्जा पाएसँगै स्थानीयले अब आर्थिक समस्या भएका बेला बैङ्कमा जग्गा धितो राखेर ऋण लिन पाउँछन् भने किनबेचमा पनि सहजता भएको छ । नापी कार्यालय मलङ्गवाले गाउँब्लक जग्गाको पुर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । 

कार्यालयले यसअघि गएको वैशाखदेखि नारायणपुरबाहेक ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा तीन सय बढी परिवारलाई लालपुर्जा उपलब्ध गराइसकेको छ ।