• ३ असार २०८१, सोमबार

बन्यो हङकङ पार्क

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर २६ गते । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको टुँडिखेलमा हङकङ पार्क बनेको छ । स्याङ्जा जनसेवा समिति हङकङले हङकङमा रहेका स्याङ्जावासीसँग रकम सङ्कलन गरेर टुँडिखेलमा अत्याधुनिक पार्क निर्माण गरेको हो । 

विगतमा राजनीतिक दलका नेताले भाषण गर्ने टुँडिखेल बच्चा, युवा तथा वृद्ध घुम्ने र बस्ने पार्क बनेको हो । जनसेवा समिति हङकङका सस्थापक अध्यक्ष भक्त गुरुङले हङकङवासी र स्याङ्जावासी नेपालीबिचको सम्बन्ध सुमधुर राख्ने उद्देश्यले हङकङ पार्कको निर्माण गरेको बताउनुभयो । 

दुई रोपनी क्षेत्रफलमामा करिब ७० लाख रुपियाँ लागतमा पार्क बनाइएको हो । पार्कमा हङकङको लान्तौ आइल्यान्डमा रहेको जस्तै बुद्धको सालिक राखिएको छ । पार्कलाई आइल्यान्ड जस्तै बनाउने भन्दै इन्जिनियर किसन गुरुङले डिजाइन गर्नुभएको हो । इन्जिनियर गुरुङले स्याङ्जामा बस्ने नेपालीलाई हङकङ कस्तो छ भन्ने देखाउने प्रयास पार्कबाट गरिएको बताउनुभयो । जग्गा सानो हुँदा सोचे जस्तो डिजाइन बनाउन नसकेको बताउँदै इन्जिनियर गुरुङले सके जति राम्रो डिजाइन गर्ने काम गरेको बताउनुभयो । पार्क बनाउन हङकङका ५० जना नेपाली र जनसेवा समितिको सङ्कलित रकमबाट निर्माण भएको हो । 

२०७८ फागुन २५ गते निर्माण सुरु भएको पार्कमा बुद्धको सालिक, विश्रामस्थल, शौचालय, वृद्ध व्यायाम स्थान, बालउद्यान, युवा जिम स्थानलगायत मनोरञ्जनका साधन राखिएको छ । स्थानीय समाजसेवी नवराज सुवेदीले सबैको सरसल्लाहमा प्रयोगविहीन अवस्थामा रहेको ठाउँलाई पार्क बनाइएको बताउनुभयो । पार्कले बच्चा, युवा र वृद्धलाई उत्साह थपेको उहाँको भनाइ छ । 

पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले पार्कलाई नगरपालिकाले संरक्षण गर्ने र राम्रो बनाउँदै अर्कोचाेिट समितिका पदाधिकारी आउँदा यसको मूल्याङ्कन गर्ने बताउनुभयो ।