• १६ असार २०८१, आइतबार

धार्मिक स्थलमा बालाचतुर्दशी मेला

blog

खोटाङ समाचारदाता

खोटाङ, मङ्सिर २६ गते । खोटाङको हलेसीसँगै पाँच धार्मिक स्थलमा बालाचतुर्दशी मेला लागेको छ । बालाचतुर्दशीको दिन सोमबार हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित प्रसिद्ध त्रिधार्मिक तपोभूमि हलेसीलगायत अन्य चार धार्मिक स्थलमा पनि मेला लागेको छ । 

दिवङ्गत आफन्तको सम्झनामा हलेसी क्षेत्रमा शतबीज छर्नका लागि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो । यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिस्थित कालिका भगवती मन्दिर, रावाबँेसी गाउँपालिकास्थित जुडी महादेवको मन्दिर, खोटेहाङ गाउँपालिकास्थित सानो हलेसीले परिचित सोल ढुङ्गा र वराहपोखरी गाउँपालिकास्थित वराहपोखरीमा  पनि मेला लागेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।  

यसैबिच बालाचतुर्दशी मेलाका लागि स्थानीय तहले सोमबार सार्वजनिक बिदासमेत दिएका थिए । आफ्नो पालिकामा अवस्थित धार्मिक स्थलमा मेला लाग्ने भन्दै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । तीन वटै पालिकामा सोमबार पालिकाका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक निकाय बन्द रहेका छन् ।  

वराहक्षेत्र समचारदाताका अनुसार सुनसरीको वराहक्षेत्र–१ मा रहेको वराहक्षेत्र मन्दिर, रामधुनी नगरपालिका–४ मा रहेको रामधुनी मन्दिरमा शतबीज छर्न अघिल्लै दिनदेखि भिड लागेको छ । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएका आफन्तको वैकुण्ठ वा स्वर्गको बाटो तय होस् र नर्कमा बस्न नपरोस् भन्ने कामनासहित आफन्त गुमाएका परिवारले शतबीज छर्ने गरेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । 

मङ्सिर कृष्ण त्रयोदशीका दिन रातभर जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीले रातभर जाग्राम बसेर बिहान शतबीज छर्ने गरेका छन् । पितृहरूको उद्धारका लागि शतबीजमा सात प्रकारका अन्नको प्रयोग गरिने गरिएको छ । धान, गहुँ, मकै, मास, मँुगी, तिल, चना शिवलय मन्दिर, तलाउलगायत मन्दिर परिसरमा शतबीज छर्ने गरिन्छ । कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा र केरासहितका फलफूलसमेत शतबीजको रूपमा प्रयोग गरिने गरिएको छ । वराहक्षेत्रमा नेपाल, भारत र भुटानदेखि आएका दर्शनार्थीको बिहानैदेखि भिड लागेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव घिमिरेले बताउनुभयो  । 

यसैबिच अर्जुनधारा जलेश्वरधाममा शतबीज छर्नका लागि भक्तजनको घुइँचो लागेको छ । धाममा बर्सेनि एक  लाखभन्दा बढी भक्तजन आउने गरेको धाम विकास समितिले जनाएको छ ।