• १२ साउन २०८१, शनिबार

पाँच हजार किशोरीको रक्तअल्पता जाँच

blog

विद्यालयमा किशोरीहरूको रक्तअल्पता परीक्षण गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर २५ गते । पाल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार किशोरीको रक्तअल्पना जाँच गरिएको छ । जिल्लाका दश वटै पालिकाभित्रका ४० वटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत झण्डै पाँच हजार किशोरीहरूको रक्तअल्पता परीक्षण गरिएको हो । 

किशोरीमा रक्त अल्पताको समस्या बढ्दै गएकाले त्यसबारे जानकारी लिई आवश्यक कार्य गर्न परीक्षण थालिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । रक्त अल्पता जाँच अन्तर्गत पहिलो चरणमा रैनादेवी छहरा, रिव्दीकोट, माथागढी र तिनाउ गाउँपालिकाका विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरी सहभागी हुने उहाँले बताउनुभयो । दोस्रो चरणमा तानसेन, रामपुर, पूर्वखोला, निस्दी, बगनासकाली, रम्भा गाउँपालिकामा हुनेछ ।

पछिल्ला वर्षमा दैनिक खानपानका कारण रक्त अल्पताका समस्या हुने किशोरीको सङ्ख्या बढ्दै गएको छ । रक्तअल्पता जाँचबाट किशोरीको पोषण तथा खानपानमा सुधार हुने र उनीहरूलाई आवश्यक पौष्टिक तत्त्व प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पाल्पामा २५ प्रतिशतभन्दा बढी किशोरीमा रक्त अल्पताको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

आइरन चक्की प्रयोग गरेका किशोरीमा पनि रक्तअल्पताको समस्या देखिनु गम्भीर रहेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले बताउनुभयो । दिनहुँ खाने खानपानमा पत्रु खानेकुराको प्रभाव बढेकाले किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको माथागढी स्वास्थ्य शाखाका प्रमुख केशव जिसीले बताउनुभयो ।