• १२ साउन २०८१, शनिबार

शून्य खनजोतमा मकै खेती

blog

बाबुराम कार्की

वराहक्षेत्र, मङ्सिर २५ गते । सुनसरीका किसानले खेत खनजोत नै नगरी बाली लगाएर राम्रो आम्दानी गर्ने गरेका छन् । किसानले शून्य खनजोत प्रविधिको प्रयोग गरेर मकै लगाउँदा कम लागतमा बढी उत्पादन  लिन सफल भएका छन् । 

वराहक्षेत्र–९ का दिलीप कविरथ एक बिघा क्षेत्रफलको धान काटेर त्यसैको गाँजमा मकै रोप्ने चटारोमा हुनुहुन्छ । उहाँले यसरी मकै रोप्न थालेको तीन वर्ष भयो । यसरी मकै रोप्दा उत्पादन पनि बढ्ने, लगानी कम लाग्ने र खेती गर्न सजिलो हुने कविरथले बताउनुभयो । 

दिलीप जस्तै वराहक्षेत्र नगरका अधिकांश किसानले धान काटेपछि त्यसैको गाँजमा मकै, गहुँ, लसुनलगायतका हिउँदे बाली लगाउन थालेको वराहक्षेत्र नगरपालिकाका कृषि प्राविधिक नीरबहादुर राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुमा त किसानले बाँझो बारीमा पनि खेती हुन्छ र ? भन्नुहुन्थ्यो । अहिले वराहक्षेत्र–९ र १० का किसानले शून्य खनजोत प्रविधिबाट मकै खेती गर्दै आएका छन् ।”  

अन्तर्राष्ट्रिय मकै र गहुँ सुधार केन्द्रको प्रविधिक सहयोगमा पहिलो पटक सुनसरी र धनुषामा शून्य खनजोत प्रविधिको अनुसन्धान र परीक्षण भएकोे थियो । सुनसरीको तत्कालीन पाँच वटा गाविस प्रकाशपुर, भोव्रmाहा, कप्तानगन्ज, सिमरिया र भलुवामा अनुसन्धान एवं प्रविधि प्रसार गरिएको थियो । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार यस प्रविधिको मुख्य उद्देश्य उत्पादन लागत कम गर्ने, कृषि यान्त्रिकीकरण प्रयोगबाट कृषि जनश्रमको अभावलाई कम गर्ने, बाली सघनतामा वृद्धि गर्ने र खेतस्तरमा रहेको झारपातलाई खेतमै कुहाएर उत्पादन बढाई गरिबी न्यूनीकरण गर्ने रहेको छ । 

कृषि अनुसन्धान निर्देशनालय कोशी तरहराका प्राविधिक अधिकृत विनोद यादवले भन्नुभयो, “खेती प्रणाली अन्तर्गत गरिएको अनुसन्धान र प्रसारमध्ये गहुँ र मकैमा कृषकस्तरमा शून्य खनजोत खेती सफल भइसकेको छ । गहुँ र मकै कृषक आफँैले खेती गर्दै आएका छन् ।” 

शून्य खनजोत प्रविधि अपनाउँदा ३० प्रतिशत उत्पादन लागत घट्छ भने उत्पादन तुलनात्मक रूपमा बढी हुन्छ । प्रकाशपुरका कृषक जयराम मेहताका अनुसार यो प्रविधि समय सान्दर्भिक भए पनि यसमा प्रयोग गरिने कृषियन्त्र गाउँ गाउँमा पुग्न नसकेकाले सामान्य डोरीका सहायताले दुरी कायम गरी पस्नी र हँसियाको सहायताले खेती गरिँदै आएको छ । 

धानको गाँजमा मकै रोप्दा ६० सेमी र बोटको दुरी २५ सेमी फरक हुनु पर्छ मकैको बोट तीन चार पात भएपछि पानी लगाउने, मल र झार मार्ने विषादी हाल्ने गर्नु पर्छ । यसरी रोपेको मकैलाई गोडमेल गर्नु पर्दैन । यसरी रोपेको मकै प्रतिकट्ठा आठ मनसम्म उत्पादन भएको स्थानीय मनकुमार कविरथ बताउनुहुन्छ ।