• २२ असार २०८१, शनिबार

हिमाली क्षेत्र फरक, जीवनशैली समान

blog

रमेश पौडेल 

पोखरा, मङ्सिर २५ गते । पोखरामा जारी आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका हुवाचेककी छोरी इर्मट्रडले हिमाली क्षेत्र फरक भए पनि जीवनशैली भने एकै प्रकारको हुने गरेको बताउनुभएको छ ।

हिमाली क्षेत्रको विषयमा आफूले खिचेको तस्बिरका बारेमा अनुभव साट्दै छोरी इर्मट्रडले हरेक देशका हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनशैली एउटै भएको अनुभव सुनाउनुभएको हो । 

‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक अनुभव साटासाट कार्यक्रममा छोरी इर्मट्रडले आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्बिरबारे अनुभव सुनाउनुभएको हो ।

सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा. इरिका हुबाचेकले आफ्नो जीवनकालमा हिमाली क्षेत्रको अध्ययन गर्ने क्रममा विभिन्न ठाउँमा फोटो खिच्नुभएको थियो । आमा डा. इरिकाको सन् २०१० मा मृत्यु भइसकेको छ ।  

उहाँकी छोरी इर्मट्रड हुबाचेकले पनि हिमाली फोटोग्राफीमा लागेर हिमाली किसानका जनजीवन, रहनसहन बारे फोटो खिच्न थाल्नुभयो । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्बिर खिच्दै हिँडेका आमाछोरीले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छ । 

“सबै ठाउँका महिलाको समान जीवनशैली हुने रहेछ । बिहानै घामको झुल्कोसँग उठी नअस्ताउन्जेल खेती किसानी गर्ने, संयुक्त परिवारमा बस्न रुचाउने धेरै हुँदा रहेछन्,” उहाँले भन्नुभयो । 

सबै ठाउँका हिमाली क्षेत्रका महिलाले गर्ने सङ्घर्ष मात्र होइन उनीहरूले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकै प्रकारको रहेको भनाइ उहाँको छ ।  उक्त प्रदर्शनमा राखिएका तस्बिरबाट आफूहरूले समयको फरकभन्दा पनि समान जीवनशैली देखाउन खोजेको बताउनुभयो। जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै समय बिताउनुभएकी इर्मट्रडले पछिल्लो समय प्रविधिको पहुँचसँगै जनजीवन बिस्तारै परिवर्तन हुँदै गएको यथार्थ सुनाउनुभयो। हुबाचेक आमाछोरीले लामो समय लगाएर फरक फरक मितिमा खिचेका फरक फरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्बिर पर्वतीय सङ्ग्रहालयमा सुरु भएको पर्वतीय मेलाको प्रदर्शनमा राखिएका छन् । 

बिहीबारबाट सुरु भएको महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने महोत्सव आयोजक निर्मला न्यौपानले जानकारी दिनुभयो । 

कार्यक्रम उद्घाटनको अवसरसँगै ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महìव र उपयोगिताबारे सन्देश दिएको छ ।