• १९ वैशाख २०८१, बुधबार

बङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु

blog

ढाका, मङ्सिर  २४  गते ।

प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । 

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ । 

बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल प्रदर्शनपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन । 

कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थक कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को प्रदर्शनपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो । 

प्रहरीका अनुसार सो प्रदर्शनपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो । 

बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको पार्टीका कानून प्रमुख कैसर कमालले एएफपीलाई बताउनुभयो । “हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ”, उहाँले भन्नुभयो, “राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।” रासस, एएफपी