• १२ साउन २०८१, शनिबार

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

blog

काठमाडौँ, मङ्सिर २४ गते । एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा आइतबार भएको खेलमा जितमा लागि दुई सय ६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा सबै  विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो ।

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ । नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । 

नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाउनुभयो । उहाँले एक सय आठ बलमा १३ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । देव खनालले २४, गुलशन झाले १७, दीपक बोहोराले १५ र दीपेश कँडेलले ११ रन बनाउनुभयो । 

बलिङ्मा अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन डाउडजाईले तीन तीन विकेट लिनुभयो । मोहमद युनुसले दुई दुई तथा वाहिदुल्हा जार्दन र खलेल अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनाएको थियो । 

अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेल्नुभयो । उहाँले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाउनुभयो । 

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई दुई विकेट लिनुभयो । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट झार्नुभयो । 

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । 

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।