• १२ साउन २०८१, शनिबार

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । 

‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर एन्ड इन्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फर्म’ विषयक कार्यक्रममा उहाँले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । 

पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । “निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती छन् । समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्”, उहाँले भन्नुभयो, “पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ। वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले जनाएको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौँ ।”

नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गर्नुभयो । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानुनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

विकास निर्माणका काममा परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) को महत्त्वपूर्ण भूमिका रहेपनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानुनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा सरकारका रहेको मन्त्री ज्वालाको भनाइ थियो । परामर्शदाता सेवासँग सम्बन्धित विधेयकको मस्यौदा तयार हुनेक्रममा रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताउनुभयो । उहाँले कामको गुणस्तर र समयमा आयोजना सक्ने कुरामा भने सधैँ चुनौती रहने गरेको बताउनुभयो । 

आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । परामर्शदाता कम्पनीले भोगिरहेका समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको शर्माले बताउनुभयो ।

पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गर्दै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबिच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । परामर्शदाता कम्पनीले अहिले गरिरहेका काममा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले सरकार र सम्बन्धित निकायले यसमा ध्यान पुर्‍याउनु पर्ने उहाँको भनाइ थियो ।

स्काफका अध्यक्ष टुकलाल अधिकारीले पूर्वाधार निर्माणका क्षेत्रमा परामर्शदाता कम्पनीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेपालका कन्सल्टेन्ट कम्पनी सङ्गठित भएको तीन दशकभन्दा बढी समय बितिसकेको भन्दै अहिले विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि आबद्ध भइसकेका उहाँले जानकारी दिनुभयो । रासस