• ६ माघ २०८१, आइतबार

मनोमालिन्यले नगर सभा हुन सकेन

blog

यादवराज पुरी 

रौतहट, मङ्सिर २४ गते । कार्यवाहक प्रमुख र जनप्रतिनिधिबिचको मनोमालिन्यका कारण रौतहटको फतुवाविजयपुर नगरपालिकामा हालसम्म पनि नगर सभा हुन सकेको छैन ।  नगर सभा गर्न मिति तय गर्ने उद्देश्यले पछिल्लो पटक बोलाइएको कार्यपालिकाको बैठकमा नेपाली कांग्रेसका जनप्रतिनिधिको अनुपस्थितिले नगर सभा अन्योलमा परेको छ । यसअघि असार १० गते नगर सभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरे पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यवाहक प्रमुखबिचको आन्तरिक वैरभावको कारण नगर सभा हुन सकेको थिएन । 

लालबकैया नदीको टेन्डरमा तत्कालीन पालिका प्रमुख गोपालराय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिबाना गरेपछि उपप्रमुख अम्बेय खातुनले कार्यवाहकको जिम्मेवारी पाउनुभएको छ । कार्यवाहक प्रमुख खातुन कांग्रेस पार्टीकै भए पनि कांग्रेसका जनप्रतिनिधिसँग सल्लाह नै नगरी मनोमानी तबरले बैठकमा बोलाएका कारण दोस्रो पटकको बैठक पनि बहिष्कार गरेको वडा नं. ९ का अध्यक्ष राकेशकुमार यादव (पप्पु) ले बताउनुभयो । 

नगर सभाको मिति तोक्न तीन दिनअघि बस्ने भनिएको कार्यपालिकाको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनुभयो । बैठकमा कांग्रेस समर्थक १५ जना कार्यपालिका सदस्य अनुपस्थित रहेको जनाइएको छ । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका पालिका प्रमुख (कारबाहीमा), उपप्रमुख, सात जना वडाध्यक्ष र आठ जना मनोनीत गरी १७ जना र अन्य दलका चार जना वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् । कार्यवाहक प्रमुखसहित कांग्रेसी जनप्रतिनिधिको बहुमत रहेको पालिकामा उनीहरूबिच नै सहकार्य नहुँदा नगर सभा प्रभावित बन्दै आएको स्थानीय बताउँछन् । 

कांग्रेस पार्टीका निर्वाचित सात जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य नै बैठकमा अनुपस्थित भएपछि गणपूरक सङ्ख्या नपुगेको हो । नगर सभा नभएका कारण फतुवा विजयपुरको शिक्षक, कर्मचारीसहित ३५० भन्दा बढी रोजगारले चालु आर्थिक वर्षको तलबभत्ता हालसम्म पाउन सकेका छैनन् । पालिकाको दैनिक कामकारबाही प्रभावित बनेको छ । विकास निर्माणको काम ठप्प छ । जनप्रतिनिधिबिच भएको आआफ्नै अडानका कारण पालिका विवादित बन्न पुगेको स्थानीय शिक्षक गोविन्द चौधरीको गुनासो छ ।