• १२ साउन २०८१, शनिबार

राजनीतिक दल सच्चिन आवश्यक

blog

कार्यक्रमका सहभागीहरु ।

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २३ गते । गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले नेपालका राजनीतिक दल सच्चिन आवश्यक रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा आयोजित नागरिक संवाद कार्यक्रमका सहभागीहरूले राजनीतिक दल नसच्चिए नेपालको वर्तमान व्यवस्था कमजोर हुने बताएका हुन् ।

“लोकतन्त्रको प्राण: सुशासन र सद्भाव” विषयक नागरिक संवाद कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर रावलले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नआएको बताउनुभयो । उहाँले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै दलहरू सच्चिन आवश्यक रहेको बताउनुभयो । 

सरकारले सङ्क्रमणकालीन न्यायलाई छिटोभन्दा छिटो टुङ्गो लगाउन जरुरी रहेको उहाँले बताउनुभयो । अपराधीलाई उन्मुक्ति दिने दिनको रूपमा लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसलगायतका दिवसलाई मनाउन नहुने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै राजतन्त्र नहुने बताउनुभयो । 

मुख्य दलका नेतृत्वको क्रियाकलापका कारण जनतामा निराशा छाएको बताउनुभयो । दलका मुख्य नेतृत्व परिवर्तन हुने र नेतृत्वमा युवा आए मात्र देशमा सुशासन दिन सकिने भन्दै नागरिकको अवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

त्यसअवसरमा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले वर्तमान सरकारले सुशासन दिन नसकेको भन्दै राज्य सञ्चालक नेताबाट जनतामा व्यवस्थाप्रतिको निराशा छाएको बताउनुभयो । देशका युवाहरू दिन प्रतिदिन विदेश पलायन भएको भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारको प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले मानव अधिकारको रक्षा गर्न नसकेको उहाँको भनाइ छ ।

शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डिराज पोखरेलले लोकतन्त्रको प्राण: सुशासन र सद्भाव” विषयक कार्यपत्र प्रस्तुतसँगै कार्यक्रममा सहभागी रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय शशि पन्थी र दीन पन्थी, नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डे, रामचन्द्र पन्थीलगायतले समसामयिक विषयमा धारणा राख्नुभयो ।