• १२ साउन २०८१, शनिबार

मनाइयो अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस

blog

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा सुर्खेतमा शनिबार निकालिएको र्‍याली । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, मङ्सिर २३ गते । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार र्‍य ालीसहित बजार परिक्रमा र अन्तरक्रिया गरी दिवस मनाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले गाउँ छाडेर शहरमै घर बनाउने सोचका कारण पनि भ्रष्टाचार बढिरहेको जानकारी दिनुभयो । शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सभापति भण्डारीले भ्रष्टाचारको मूल जग नै देखासिकी भएको बताउनुभयो । 

‘सहरकेन्द्रित बसाइले शिक्षा, स्वास्थ्य रोजगारीमा सहज पहुँच हुन्छ भन्ने मान्यता छ । विकास गाउँकेन्द्रित र मानिस सहरकेन्द्रित हुँदा पनि भ्रष्टाचार मौलाएको छ’ उहाँले भन्नुभयो, “गाउँमा स्थापित पुर्ख्याैली सम्पत्तिलाई छोडेर सहरमा घरजग्गा जोड्ने आशयका कारण भ्रष्टाचारले बढावा पाइरहेको छ ।”

यसक्रमलाई रोक्नुपर्ने भन्दै उहाँले सोच परिवर्तन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि राज्यका निकायले ग्रामीण क्षेत्रमा आधारभूत संरचनालाई स्तरीय बनाउनेतर्फ जोड दिनुपर्नेमा उहाँको जोड छ । साथै, नागरिकले पनि गाउँप्रतिको विश्वास बढाएर जन्मस्थान नछाडेर त्यहींभित्र सम्भावना खोज्नुपर्ने उहाँको सुझाव छ ।

यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालय सुर्खेतका सचिव आनन्द सारुले भ्रष्टाचार न्यूनीकरण गर्न सबैको भूमिका रहने बताउनुभयो । नागरिक, जनप्रतिनिधि सबैले कुन तहको काम गर्ने भनेर सचेतना फैलाउन जरुरी भएको बताउँदै राज्य निर्जीव हुन्छ, यसलाई जीवन दिने काम नागरिक, जनप्रतिनिधि र कर्मचारीले गर्ने उहाँले बताउनुभयो । 

सहकर्मी समाजका कार्यक्रम संयोजक हरिप्रसाद उपाध्यायले सुशासनमा नागरिक समाजको सक्रियता बढाउन लामो समयदेखि सहजीकरण गरिरहेको जानकारी दिनुभयो । लोकतन्त्र र विभिन्न शासन कमजोर हुनु भ्रष्टाचारको मुख्य कारण रहेको उहाँको भनाइ छ । 

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा सहकर्मी समाज, प्रदेश सुशासन सञ्जालको आयोजना र युएनडीपी, संस्थागत सुधारका लागि न्यायमा अभिवृद्धि परियोजनाको सहयोग र अन्य सङ्घ संस्थाको समन्वयमा वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढीबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै चौतारामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सुर्खेतका विभिन्न सङ्घसंस्था, नागरिक समाज, पत्रकार विद्यार्थीलगायतको सहभागिता थियो ।