• १२ साउन २०८१, शनिबार

ओझेलमा ऋणीमोच्छ तीर्थस्थल

blog

जिल्लाको प्रसिद्ध मोच्छ गर्ने धार्मिक ऋणीमोच्छ तीर्थस्थल । तस्विर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, मङ्सिर २३ गते । मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको ऋणीमोच्छ तीर्थस्थल ओझेलमा परेको छ । छायाँनाथ रारा नगरपालिका –१२ मा रहेको ऋणीमोच्छ तीर्थस्थलमा आवश्यक संरचना तथा प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध र मोच्छ प्राप्त गर्ने तीर्थस्थल मानिने ऋणीमोच्छ तीर्थस्थलमा पूर्वाधार, संरचना र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको स्थानीय हर्कबहादुर सावतको भनाइ छ । 

स्थानीयका अनुसार यो तीर्थस्थलमा जनैपूर्णिमाको नवमीका दिनदेखि पूर्णिामाका दिनसम्म जुम्ला, हुम्ला, जाजरकोट, कालिकोट र दैलेखबाट भक्तजन आउने गर्छन् । मानव बस्तीभन्दा केही टाढा हिमालको बिचमा एकान्त वातावरणमा रहेको ऋणीमोच्छ तीर्थस्थल यतिबेला प्रचार प्रसार र पूर्वाधार विकासको पर्खाइमा छ ।

समुद्र सतहदेखि तीन हजार नौसय मिटरको उचाइमा रहेको धार्मिक हिसाबले निकै प्रसिद्ध देखिने ऋणीमोच्छ तीर्थस्थल पर्यटकीय सम्भावना बोकेको भए पनि ऋणिमोच्छ तीर्थस्थलको प्रवर्धनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका तीनै सरकारले प्राथमिकता नदिएको समाजसेवी कृष्णबहादुर सेजुवालले गुनासो गर्नुभयो ।

ऋणीमोच्छलाई पर्यटकीय गन्तव्यको गुरुयोजना नबनाउँदा योजनासँगै आवश्यक संरचना र प्रचार प्रसार अभावले ओझेलमा परिरहेको स्थानीयवासी सेजुवालको भनाइ छ । ऋणीमोच्छको प्रवर्धनका कार्य र प्रचार–प्रसार र सडक सञ्जालमा जोड्न सकेमा पर्यटकको बाक्लो उपस्थिति हुनसक्ने सम्भावना रहेको छायाँनाथ रारा नगरपालिका –१२ का वडासचिव हिमबहादुर बडुवालले बताउनुभयो ।

उहाँले पर्यटकीय गन्तव्य अन्तर्गत रारा ताल र ऋणीमोच्छलाई सडक सञ्जालमा जोड्न सकेमा पर्यटन प्रवर्धनको विकासमा फड्को मार्न सक्ने बताउनुभयो । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले ऋणीमोच्छको विकास प्रवर्धनका लागि नगरपालिकाले आफ्नो नीति र कार्यक्रममार्फत ऋणीमोच्छ तीर्थस्थललाई समावेश गरी पर्यटकीय प्रवर्धनका रूपमा विकास गर्नेगरी योजना बनाइरहेको उहाँले बताउनुभयो । 

नगरपालिकाभित्रका पर्यटनलाई प्रचारप्रसार र प्रवर्धनसँगै जिल्लाका युवकयुवतीलाई रोजगार सिर्जना हुने उद्देश्यले नगरपालिकाले योजना कार्यान्वयनमा तयारी गरेको बताउनुभयो । 

ऋणीमोच्छ तीर्थस्थलको पर्यटन प्रवर्धनका लागि प्रतिनिधि सभाका सदस्य र प्रदेश सभाका सदस्यले ऋणीमोच्छका लागि अहिलेसम्म गुरुयोजना बनाउन चासो नदिएको स्थानीयवासी प्रेमलाल बुढाले बताउनुभयो ।