गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर २३ गते । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिएका छन् ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिनुभएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घुम्ती शिविरमा ६२ जना महिला र सात जना पुरुष गरी ६९ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको हो ।
शुक्रबार नगर अस्पताल कोहलपुरमा सञ्चालित शिविरमा १८ महिला र दुई पुरुष गरी २० जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार यसअघि राप्तीसोनारी –४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जना, गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना, राप्तीसोनारी –६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जना र डुडुवा गाउँपालिका २ स्थित बेतहनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा सात जना महिलाले बन्ध्याकरण गर्नुभएको थियो ।
सूचना अधिकारी श्रेष्ठका २४ गते नौबस्ता स्वास्थ्य चोकी, २६ गते सम्झनाचोकस्थित बजार व्यवस्थापन समितिको भवन, २८ गते प्राथमिक स्वास्थ्य केन्द्र खजुरा, ३० गते बेलभार स्वास्थ्यचौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालयले मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।