• ११ मंसिर २०८१, मङ्गलबार

नवलपुरमा मिटरब्याज पीडित र पीडकको जुहारी

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर २३ गते । गोरखापत्रले गत भदौ १४ गते जिल्लामा मिटरब्याजीको पोल खोलिदिएपछि अहिले यो व्यापक चर्चाको विषय हुन पुगेको छ । मिटरब्याजमा संलग्न रहेको भनिएका केही पात्रहरूले प्रेस काउन्सिलमा समाचारको खण्डनका लागि पटक पटक उजुरी पनि हाले । तर, काउन्सिलले उक्त समाचार तथ्यमा आधिकारिक रहेकाले खण्डन गर्न नपर्ने जवाफ दिएपछि अहिले भने पीडक र पीडित भनिएकाहरू नै एकापसमा आरोप प्रत्यारोपमा उत्रेका छन् ।

यो अवधिमा पीडितहरूले सङ्घर्ष समिति बनाए । विभिन्न राजनीतिक दलका नेता र सरोकारवालाहरूसँग अन्तरक्रिया गरे । नाराबाजी गर्दै पीडक भनिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी स्थानीय नेतृ माया भण्डारीको घर घेराउ गरे । आफूविरुद्ध नाराबाजीसहित घर नै घेराउ गरेपछि भण्डारी पनि प्रतिवादमा उत्रनुभयो ।

तीन दिनअघि भण्डारीसहित मिटरब्याज पीडकको आरोप लागेका कुमार रोक्का, विमला तिवारी र राधिका पाण्डेले पत्रकार सम्मेलन गरी आफूहरूमाथि लागेको आरोपको खण्डन गर्दै प्रमाण भए कानुनी उपचार खोज्न चुनौती दिनुभयो । पीडितहरूले सार्वजनिक कार्यक्रममै पीडक भनिएकाहरूको नाम सार्वजनिक गर्दै विभिन्न आरोप लगाउन थाले पछि उनीहरू पनि प्रतिवादमा उत्रे ।

पत्रकार सम्मेनलमा पीडक भनिएकाहरूले आवश्यक पर्दा सरसापट र ऋण लिएर अहिले सहयोग गर्ने व्यक्तिहरूलाई नै मिटरब्याजीको नाममा चरित्र हत्या गर्ने खोजिएको दाबी गरे । कार्यक्रममा भण्डारीले आठ वर्षअघि गरेको जग्गाको कारोबारलाई अहिले आएर मिटरब्याजीको नाममा आफ्नो बदनाम गराउन खोजिएको भन्दै कानुनी उपचार खोज्ने बताउनुभयो । 

भण्डारीले नगद नभई जग्गाको कारोबार मात्र गरेको दाबी गरेको दुई दिन पछि पीडित भनिएकाहरूले अर्को पत्रकार सम्मेलन गरी त्यसको खण्डन मात्र गरेनन् आक्रोश नै पोखे । पीडित भनिएकी कमला अधिकारीले पत्रकारको अगाडि भण्डारी, रोक्का, तिवारी र पाण्डेले झुट बोलेको भन्दै आफूहरूको अगाडि आएर मिटरब्याजी होइनन् भन्न सक्ने हिम्मत देखाउन चुनौती दिनुभयो । 

कावासोतीकै श्याम बहादुर झेडी मगरले आफू सबैभन्दा पुरानो मिटरब्याज पीडित भएको बताउनुभयो । ‘पहिले त मलाई म मात्र मिटरब्याज पीडित हो जस्तो लाग्थ्यो, मगरले भन्नुभयो, ‘‘तर यहाँ त पीडितहरू धेरै रहेछन्, अव बिस्तारै अरू पनि खुल्न थालेका छन् ।’’

उहाँले आफू विश्वराज पाण्डे र माया भण्डारीबाट मिटरब्याजले हायलकायल भएको बताउनुभयो । एक लाख रुपियाँको दिनको एक हजार ब्याज र १५ दिनसम्म ब्याज तिर्न सकेन भने त्यसलाई पनि साँवामा जोडेर त्यसको पनि ब्याज गरी अहिलेसम्म एक करोड १८ लाख रुपियाँ ब्याज मात्र तिरेको दाबी मगरले गर्नुभयो ।

अर्की पीडित कावासोती–४ हसौराकी शारदा पौडेलले मिटरब्याजले घर, परिवार इष्टमित्र, नाताकुटुम्ब सबै गुमाएको र सम्पत्ति पनि सकेर सडकमा पुगेको दुखेसो पोख्नुभयो । सुरुमा एकले अर्काको नाम लिनसमेत डराउने पीडक र पीडित भनिएकाहरू अहिले भने एकले अर्काको चर्को आलोचनामा समय खर्च गरिरहेका छन् । 

यसैबिच मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले पीडक र पीडितलाई पनि सँगै राखेर सर्वदलीय बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने र प्रशासनको रोहबरमा सहमतिको प्रयास गर्ने, जिल्ला प्रशासन कार्यालयमा पुनः ज्ञापन पत्र बुझाउने, त्यति गर्दा पनि सुनुवाइ नभए सामाजिक र नैतिक दबाबका लागि प्रशासन र पीडकहरूको घर घेराउ गर्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक हेमराज दाहालले बताउनुभयो ।