• १० मंसिर २०८१, सोमबार

गोरखनाथ, गोरखा र पर्यटन

blog

गोरखा जिल्ला महासिद्धयोगी गुरु गोरखनाथको साधनास्थल हो । गुरु गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण भएको हो । गोरखा पूर्वीय सभ्यताका केन्द्रबिन्दुहरूमध्ये एक हो । राजा द्रव्य शाहले विसं १६१६ साल भदौ २५ गते गोरखा राज्यको स्थापना गरेका थिए । उनीपछिका दसौँ पुस्ताका राजा पृथ्वीनारायण शाह हुन् । गोरखा राज्यको स्थापना र विस्तारसँग गुरु गोरखनाथको सम्बन्ध गाँसिएको छ । त्यसैले उहाँलाई राष्ट्रदेवको मान्यता दिइएको हो । त्यस समयका शाहवंशीय राजाहरूका पालामा काटिएका चाँदी र तामाका पैसामा श्री श्री श्री गोरखनाथ, श्री भवानी लेखिएको छ । राजा त्रिभुवनका पालासम्म पनि अहिलेको नेपाललाई गोर्खा राज्य भन्ने गरिन्थ्यो । उहाँको राज्याभिषेकमा गोर्खा सरकारको राजा भनिएको थियो । विसं १९८५ सालतिर नेपालको हुलाक टिकटमा गोर्खा सरकार लेखिएको छ । 

शाहवंशीय राजासँगको सम्बन्ध 

गुरु गोरखनाथको शाहवंशीय राजाहरूसँग राजपाठ सञ्चालनमा सम्बन्ध रहेको पाइन्छ । त्यसैले गोरखाका गाउँघरमा गुरु गोरखनाथसम्बन्धी विभिन्न जनश्रुति रहेका छन् । हिन्दु शास्त्र अनुसार भगवान् शिवका १०८ अवतारमध्येका एक अवतार गुरु गोरखनाथ हुन् र उनी पहिलो पटक आठौँ शताब्दीमा गोरखाको गोरखनाथ गुफामा प्रकट भएका थिए । त्यसपछि विभिन्न कालखण्डमा उनी फिरन्ते जोगीका रूपमा हिँडडुल गर्ने गर्दथे । त्यसै सिलसिलामा उनको राजा द्रव्य शाह, राम शाह, सिद्ध लखन थापामगर र पृथ्वीनारायण शाहसँग भेट भएको थियो । उनकै आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएका थिए भने उनका नाति राजा राम शाहले न्याय निसाफसम्बन्धी स्थिति बसालेका हुँदा त्यस समयमा न्याय नपाए गोरखा जानू भन्ने उखान चलेको थियो । 

राजा राम शाहले गुरु गोरखनाथसँगको भेटमा नेपाल भोगको इच्छा व्यक्त गरेका थिए । उनले तिम्रो यो मनोकामना तिमीपछिका सातौँ पुस्ताका राजाका पालामा पूरा हुने छ भनी बताएका थिए । उनीपछिका सातौँ पुस्ताका राजा पृथ्वीनारायण शाह हुन् । यिनी छ वर्षको हुँदा गोरखाको गोरखनाथ गुफामा गुरु गोरखनाथसँग भेट भएको थियो । उनले खान दिएको दही पृथ्वीनारायण शाहको पैतालामा परेकाले तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका थिए । गोरखा जस्तो गरिब राज्यमा जन्मेका पृथ्वीनारायण शाहले विश्व विजयमा हिँडेको अङ्ग्रेजलाई सिन्धुलीगढीको युद्धमा परास्त गर्न सक्नुमा गुरु गोरखनाथको आशीर्वाद रहेको पाइन्छ । पृथ्वीनारायणलाई अप्ठेरो परेको बेला गुरु गोरखनाथले सपनामा अर्तिबुद्धि दिने गरेको कुरा उनले बताउने गर्दथे । 

पर्यटकीय स्थलहरू 

गोरखाका पर्यटकीय स्थललाई ऐतिहासिक, धार्मिक, पुरातात्त्विक , सांस्कृतिक र प्राकृतिक श्रेणीमा बाँड्न सकिन्छ । गोरखा दरबार, गोरखनाथ गुफा, दरबार सङ्ग्रहालय, लिगलिगकोट, मनकामना मन्दिर नेपालको इतिहाससँग जोडिएका ठाउँ हुन् । गोरखामा धार्मिक, सामरिक महत्व बोकेका ३६ वटा कोट रहेका छन् । गोरखा दरबार माझकोटमा रहेको छ भने माथिल्लोकोटमा वज्रभैरवको थान छ । ३६ कोटमध्ये माझकोट, माथिल्लोकोट, श्रीनाथकोट र लिगलिगकोटको बढी महìव रहेको छ । यस जिल्लाको हिमाली क्षेत्रमा तिब्बती समुदायका मानिसको बसोबास रहेको छ । त्यहाँ ठुलो सङ्ख्यामा बौद्ध गुम्बा, माने, कानी, मन्दाम, छोर्तेनहरू रहेका छन् । त्यहाँको चुम उपत्यकामा जीवजन्तु काटमार गरिँदैन । तिब्बती बौद्ध परम्परा अनुसार यो उपत्यकालाई आध्यात्मिक भूमि मानिन्छ । त्यस उपत्यकाको पिरेन फु गुफामा तिब्बतका महान् तान्त्रिक गुरु चिप्चुन मिलारेपा आएर ध्यान र साधना गरेका थिए । त्यस गुफाको ढुङ्गामा रहेको उनको पैतलाको छाप अझै पनि देख्न सकिन्छ । प्रसिद्ध मनास्लु पदयात्रा मार्ग यसै जिल्लामा पर्दछ । तल्लो मनास्लु क्षेत्र भनिने जिल्लाको लेकाली क्षेत्र बुद्ध हिमालको काखमा रहेको छ र जैविक विविधता एवं प्राकृतिक सौन्र्दयले भरिपूर्ण छ ।

यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बनाउन पर्यटन पूर्वाधार विभागको लगानीमा बारपाकदेखि रुबिनालासम्म करिब ३० किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्गलाई नारदपोखरी र बुद्ध हिमालको फेदी हुँदै लमजुङको दुधपोखरीसम्म विस्तार गर्ने योजना रहेको छ । गुरुङ समुदायको बाहुल्य रहेको तल्लो मनास्लु क्षेत्रमा बारपाक, लाप्राक, भच्चेक जस्ता प्रसिद्ध गुरुङ गाउँ छन् । 

विगतका प्रयास 

गोरखा दरबार र दरबार सङ्ग्रहालय व्यवस्थापनका लागि नेपाल सरकारले पुरातत्व विभाग मातहत रहने गरी कार्यालय स्थापना गरेको छ । मनकामना र बक्रेश्वर महादेवको मन्दिरमा गुठीमार्फत पूजा सञ्चालन हुने गरेको छ । त्यहाँ पुग्नका लागि निजी क्षेत्रबाट विसं २०५८ सालदेखि केबुलकार सञ्चालनमा ल्याइएको छ । गोरखा दरबारको प्राकृतिक सौन्दर्यलाई बचाइराख्न राजा वीरेन्द्रले गोरखा दरबार आसपासको जमिन अधिग्रहण गरी राष्ट्रिय निकुञ्ज बनाउनू भन्ने हुकुम बक्स भएबमोजिम दरबार आसपासको निजी जमिन अधिग्रहण गरी वृक्षरोपण गरे पनि निकुञ्ज बनाउने कामले पूर्णता पाउन भने सकेन । पुरातात्त्विक , सांस्कृतिक महत्वको गोरखा बजारका नेवारी संस्कृति झल्किने पुराना घरहरू संरक्षण गर्न प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम पहल भए पनि संरक्षण गर्न सकिएकोे छैन । मनास्लु क्षेत्रमा पर्यटन प्रवर्धन गर्न नेपाल सरकारले विसं २०५५ सालमा मनास्लु संरक्षण क्षेत्र घोषणा गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत इको टुरिजम प्रोजेक्ट सञ्चालन गरेको थियो । 

पर्यटन विकासको मार्गचित्र

गोरखा जिल्ला भौगोलिक रूपमा हिमाल, लेकाली क्षेत्र र मध्यपहाड गरी तीन खण्डमा विभाजित छ । त्यसैले ठाउँ सुहाउँदो पर्यटकीय गतिविधि सञ्चालन गर्नु पर्दछ । मनास्लु क्षेत्र र तल्लो मनास्लु क्षेत्रमा पदयात्रा पर्यटन नै सबैभन्दा उत्तम हुने देखिन्छ । 

तल्लो मनास्लु क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र जस्तै कुनै एक व्यवस्थापनको मोडेल अवलम्बन गरी संरक्षण गर्न नसक्दा प्रचारप्रसारमा आउन सकेको छैन । त्यहाँ निर्माण गरेका पदमार्ग, किचन र भरिया विश्रामस्थलहरूको सुरक्षाका लागि समेत कुनै एक व्यवस्थापनको मोडेल अपनाउन जरुरी छ । गोरखाको तल्लो भेगमा रहेका पर्यटकीय क्षेत्रमध्ये मनकामना मन्दिर, गोरखा दरबार, गोरखनाथ गुफा, गोरखकाली मन्दिर, दरबार सङ्ग्रहालय र रामेश्वर मन्दिर मुख्य रहेका छन् । गोरखामा रहेका पर्यटकीय क्षेत्रमध्ये चुम उपत्यका, तल्लो मनास्लु क्षेत्र र गुरु गोरखनाथलाई ब्रान्डिङ गरे स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

नेपालीमूलका मानिसलाई विश्वभर गोर्खा नामले चिन्ने गरिन्छ तर यो चिनारीसँग सम्बन्धित गुरु गोरखनाथका बारेमा नेपाली समाज अनभिज्ञ हुँदै गएको छ । गोरखा राज्यको स्थापनाकालदेखि नै राष्ट्रदेवका रूपमा मानिँदै आएका गुरु गोरखनाथ पछिल्लो समयमा उपेक्षित भएका छन् । उनको योगदानको कदर हुन सकेको छैन । 

नेपालमा गोरखनाथ दर्शन, तान्त्रिक विद्या, हठयोग र नेपाल एकीकरणमा गुरु गोरखनाथले पु¥याएको योगदानबारे अध्ययन, अनुसन्धान र प्रचारप्रसार गर्न संस्थागत संरचनाहरू तयार पारेर गोरखालाई गोरखनाथ दर्शन, तान्त्रिक विद्या र हठयोग साधनाको केन्द्रका रूपमा विकास गर्न सके मात्रै पशुपतिनाथ र मुक्तिनाथमा जस्तै गोरखामा समेत भारतीय पर्यटक आकर्षित गर्न सकिने छ । यसका लागि पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष जस्तै गोरखनाथ विकास कोष वा समिति गठन गर्न सान्दर्भिक हुने देखिन्छ । गोरखाको पर्यटन विकास योजनामा चुम उपत्यका, तल्लो मनास्लु क्षेत्र र गुरु गोरखनाथले प्राथमिकता पाउनु पर्दछ ।   

Author

पशुपति अधिकारी