• १२ साउन २०८१, शनिबार

पोखराको नयाँ बजारमा व्यापार मेला सुरु

blog

मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

रमेश पौडेल

पोखरा, मङ्सिर २२ गते। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको मेला यही पुस १ गतेसम्म चल्ने छ।  

मुख्यमन्त्री पाण्डेले बिहीबार मेलाको उद्घाटन गर्दै घरेलु मदिरा र गाँजा खेतीले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी आत्मनिर्भरता दिलाउने भएकाले वैधानिकताको पहल गरिएको बताउनुभयो।  

विश्वका धेरै देशले आफ्नो मौलिक मदिराको उत्पादनलाई वैधानिकता दिँदै प्रवद्र्धन गरेको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “दुईवटा कुरा मैले नीति तथा कार्यक्रममा पनि भनेको छु, आज पनि भन्छु ।  एउटा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र अर्को गाँजा खेतीलाई वैधानिकता दिने।  गाँजा लागुपदार्थ मात्र नभई औषधिजन्य पदार्थ पनि हो।  यसको सही सदुपयोग गर्ने हो भने औद्योगिक उत्पादनमा टेवा पुग्छ।  बाँझो जमिनमा यसको खेती गर्ने हो भने जग्गाको सदुपयोग पनि हुन्छ र यसलाई बाँदरले पनि खाँदैन। ”  उहाँले प्रदेश सरकारको अबको अधिवेशनमा गाँजा खेती र घरेलु मदिरालाई वैधानिकता दिने दुई विधेयक दर्ता गरिने जानकारी दिनुभयो।  

उहाँले २०४६ सालको परिवर्तनपछि  खानेपानी, बाटो, शिक्षा, स्वास्थ्यको विकासमा देशले  फड्को मारे पनि रोजगारी सिर्जनामा चुक्दा समस्या उत्पन्न भएको जिकिर गर्नुभयो।  उहाँले  पर्यटन उद्योगलाई कसरी माथि लैजान सकिन्छ भन्नेबारे प्रदेश सरकार गम्भीर रहेको पनि बताउनुभयो।  

 “हाम्रा क्रियाकलाप रोजगारी सिर्जनामा लक्षित हुनुपर्छ।  त्यो गर्न सकेमात्र हामी आत्मनिर्भर बनी समुन्नत प्रदेश बनाउन सक्छौं तर दुखको कुरा गाउँमा अहिले जनशक्ति छैन। त्यसैले युवालाई देशमै रोक्ने नीति र योजना आजको आवश्यकता हो”, उहाँले बताउनुभयो।  फेवाताल संरक्षणबारे सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आदेश कार्यान्वयनमा  सहजीकरण गर्न आफ्नै संयोजकत्वमा समिति बनाइएको उहाँले प्रष्ट पार्नुभयो।  

गण्डकीका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा महानगरको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माणका लागि अन्तिम कार्य भइरहेको र अन्य पालिकाहरुमा पनि औद्योगिक ग्राम खोलिने बताउनुभयोे।  युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै उहाँले रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताउनुभयो।  उहाँले रोजगारी सिर्जनाका लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अब प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने उल्लेख गर्नुभयो।  

 कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताउनुभयो।  उहाँले पोखरामा स्थायी प्रदर्शनी केन्द्र निर्माणलगायतका भौतिक पूर्वाधारका काममा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो।  


मेला आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरालगायत राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय विस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिनुभयो।   

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो। 

मेलाको समुद्घाटन समारोहको पूर्व सन्ध्यामा आयोजित प्रभातफेरिमा १२५ भन्दा बढी आमा समूहको सहभागिता रहेको संयोजक तथा संघकी कार्यसमिति सदस्य प्रभा सुवेदीले जानकारी दिनुभयो।  मेलामा २५० वटाभन्दा बढी व्यावसायिक स्टल रहेको आयोजकले जनाएको छ।