चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर २२ गते । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको शेयर पूँजी ५० करोड पुगेको छ ।
शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा संस्थाको ३० औं बार्षिक साधरण सभा अन्तर्गत एकाइगत साधारण सभामा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदनमा सो जानकारी दिइएको हो ।
संस्थाका अध्यक्ष देववहादुर बमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार १४० जना शेयर सदस्य रहेको जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७९–८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ । २०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रकम रहेको थियो ।
आर्थिक मन्दिका वावजुद पनि संस्थाको बचत संकलनमा खासै असर परेको देखिदैन । गत बर्षको निक्षेप चार अर्व नौ करोड १३ लाख ३० हजार रहेकोमा बृद्धि भइ २०८० साल असार मसान्तसम्म चार अर्व ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म संस्थाको नगद र बैंक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ ।
संस्थाले प्रतिशेयर १२ प्रतिशतका दरले पूरा बर्षको लाभांश वितरण गर्ने जनाइएको छ । आर्थिक वर्ष २०८०–८१ को नाफाबाट तीन करोड २६ लाख ५२ हजार रकम लाभांश भुक्तानी गर्ने प्रस्ताव पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाको बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा ११ वटा इकाइ कार्यालय रहेका छन् ।
विभिन्न इकाई कार्यालयलाई पायक पर्नेगरी संस्थाले विभिन्न मितिमा पाँच ठाउँमा साधारण सभा आयोजना गरेको छ । बर्दियाको बाँसगढी, टिकापुर संस्थाको इकाई साधरणसभा सम्पन्न भइसकेको जनाउँदै २४ गते अत्तरिया, २७ गते धनगढी इकाई साधारण सभापछि मङ्सिर ३० गते संस्थाको प्रधान कार्यालय धनगढीमा साधारण सभा समापन हुने जनाइएको छ ।