• ११ असोज २०८१, शुक्रबार

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २२ गते । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

जनसाहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उहाँले बताउनुभयो ।

स्वदेशका सांस्कृति, सामाजिक पक्षका साथै सभ्यताको जगेर्ना हुन नसकेकाले भाषा, साहित्यको अतिक्रमण हुँदै गएकामा हामी सबै त्यसतर्फसचेत रहनुपर्ने नेता खनालको भनाइ थियो । मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा रहेको बताउँदै उहाँले त्यस्तो कार्यले सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्राप्त अधिकार संकुचित हुनसक्ने औँल्याउनुभयो ।

नेता खनालले विभिन्न शक्ति राष्ट्रको प्रभाव बढेकाले राष्ट्रियताका साथै राजनीतिक प्रणालीमासमेत संकट देखा परेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नेता खनालले मुलुकमा विद्यमान विभेद, वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न सरकारलाई आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले विगतमा मुलुकमा राष्ट्रिय औद्योगीकरणको विकास गर्न नसकेकाले आर्थिक सङ्कट आएको उल्लेख गर्दै यसलाई समाधान गर्न सबै दलहरुले प्रष्ट नीति बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकका विभिन्न समयमा भएको आन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएकाले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिनुभयो । समाजवादको मुख्य आधार उद्यमशीलताको विकास तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने भएकाले जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने नेता खनालको भनाइ थियो । रासस