• २८ वैशाख २०८२, आइतबार

संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक ।

काठमाडौं, मङ्सिर २२ गते।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ।  

शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताउनुभयो।  उहाँले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो।  उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन।  हामी त्यसमै गइरहेका छौं।  कमी कमजोरीहरु छन्।  केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् भन्ने चिन्ता र चासो छ।  नेपाली काँग्रेस यो विषयमा गम्भीर हुनु जरुरी छ।  असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ।  असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाविरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली कांग्रेस सबैभन्दा ज्यादा सेचत हुनुपर्छ।  विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न जरुरी छ। ’’

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै कांग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो।