• १२ साउन २०८१, शनिबार

समितिले एनसेल शेयर खरिद प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने

blog

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।

काठमाडौं, मङ्सिर २२ गते । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई आगामी सोमबार २५ गते बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो ।

त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताउनु भयो । समितिले प्रधान सेनापतिलाई आगामी बुधबार २७ गते काठमाडौं–तराई÷मधेश द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

‘‘रक्षा मन्त्रालयसँग समन्वय गरेर यही मङसिर २७ गते बुधबार प्रधान सेनापतिसहित उपस्थिति गराएर फास्ट ट्रयाकको सम्बन्धमा उहाँले आएर ब्रिफिङ गर्ने कार्यक्रम छ । र त्यस दिन कति गतिमा भयो ? कति रकम खर्च भयो ? कति हुँदैछ ? कुन गतिमा पुग्यो ? कहाँ जाने हो ? त्यो बारेमा प्रधान सेनापतिले राज्य व्यवस्था समितिले जानकारी गराउने कार्यक्रम भएको जानकारी गराउन चाहन्छु ।,’’ सभापति खतिवडाले भन्नुभयो, ‘‘२५ गते सोमबार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गरौँ । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौँ आजै ।’’

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।