• १२ साउन २०८१, शनिबार

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी अधिवेशनबाट पारित हुन्छः सभामुख घिमिरे

blog

कार्यक्रममा सहभागी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत ।

काठमाडौं, मङ्सिर २२ गते।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ।   शुक्रबार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले त्यसलाई टुङ्ग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताउनुभएको हो। 

सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐन निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबीसमेत गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनलाई बिर्सिएर पीडितले शान्ति महसुस गर्ने, पीडाको रिलिफ महसुस गर्ने, परिपूरण प्राप्त गर्ने र सही कुराहरु के हो ? यसको समाधान खोज्ने।  सत्यको आधारमा जे भएको छ।  त्यसलाई लिएर जाने र समानताका साथ समाजलाई अगाडि लिएर जाने कुरामा अझै पनि कानुन पूरा हुने कुरा बाँकी छ।  अहिले संसदको कानुन तथा न्याय समितिमा छलफल भएर पनि करिब टुङ्गिन लागेको छ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसलाई टुङ्ग्याउने अधिकार हुन्छ।  मलाई विश्वास छ, संसद्को आगामी अधिवेशनमा टुङ्ग्याउने काममा उहाँहरुलले सफलता हासिल गर्नु हुनेछ।  त्यसलाई सफलतापूर्वक टुङ्ग्याइसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौं। ’

त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।