• १२ साउन २०८१, शनिबार

हिंसा रोक्न कानुन कार्यान्वयन आवश्यक

blog

बिन्दु थापा 

पाल्पा, मंसिर २२ गते । अधिकारकर्मी तथा सरोकारवालाले कानुनले महिलालाई सशक्त बनाएको भए पनि कार्यान्वयन पाटो सोचेभन्दा फितलो हुँदा महिला हिंसा जारी रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको अवसरमा आज भएको सचेतना कार्यक्रममा बोल्ने महिला अधिकारकर्मी तथा सरोकारवालाले सो कुरा बताउनुभएको हो ।

महिलाबारे बनेका सरकारी नीति नियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिला पछाडि परिरहेको र अन्याय सहन बाध्य भएको बताउनुभएको छ ।  

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले महिला अधिकारलाई अधिकारका रूपमा नलिएर दया, माया र निगाहका रूपमा लिने समस्या रहेकाले  घर परिवारदेखि नै नारीप्रतिको हेराइ, सोच र अधिकारप्रति व्यापक अभियान चलाउन जरुरी रहेको बताउनुभयो । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले समाज एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी–पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा सो दर्जा दिन नसकेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले आजको २१ औँ शताब्दीमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथाजस्ता अमानवीय व्यवहार भइरहेको बताउनुभयो ।