• १२ साउन २०८१, शनिबार

बाढी पहिरोपीडित किसानले क्षतिपूर्ति पाउने

blog

बाढी पहिरोबाट बालिमा पुगेको क्षति । फाइल तस्विर

राजन रावत

हुम्ला, मङ्सिर २२ गते । गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छ । 

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीका अनुसार लामो प्रयासपछि प्रदेश मन्त्रालय बाढी पहिरोबाट बालीनालीमा पुगेको क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्न सहमत भएसँगै बजेटको व्यवस्था गरेको हो । असार दोस्रो हप्ता, साउन दोस्रो तथा भदौं पहिलो हप्ता नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका वर्षका कारण बाढी पहिरोले पाक्नै लागेको बालीनालीमा क्षति गरेको थियो । 

क्षतिको विवरण कृषि विकास कार्यालयले लिएको भए पनि क्षतिपूर्ति पाउनेमा किसानहरु द्विविधामा थिए । बाढी पहिरोपीडित किसानले पहिलो पटक प्रदेश सरकारबाट क्षतिपूर्ति प्राप्त गर्न लागेका हुन् ।  दुई वर्षअघि कात्तिकमा परेको पानीले किसानका सयौ क्विन्टल आलु कुहिएको थियो । तर प्रदेश सरकार र सङ्घ सरकारसँग क्षतिपूर्ति माग गर्दा किसानले पाएका थिएनन् । 

जिल्लाबाट माग गरिएको तीन करोड ९८ लाख ९६ हजार रुपियाँ मूल्य बराबरको अन्नबालीमा क्षति पुगेको विवरण जिल्लाबाट मन्त्रालय गएको थियो । यसबाट बाढी पहिरोले क्षति पुगेको नाम्खाका सोह्र, खार्पुनाथका बाह्र, सर्केगार्डका ५३०, चङ्खेलीका ७३, अदानचुलीका ५९८ र ताँजाकोट गाउँपालिकाको १४० गरी एक हजार ३६९ घरधुरीले नियमानुसार क्षतिपूर्ति प्राप्त गर्नेछन् ।