• १२ साउन २०८१, शनिबार

सुनसान बन्दै नार्पाभूमि

blog

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर २२ गते । मौसम प्रतिकूल बनेसँगै नार्पाभूमिका स्थानीय बेँसी झरेका छन् । उच्च हिमाली भेगमा हिमपात हुन थालेपछि पशु चौपायासहित उनीहरू बेँसी झरेका हुन् । बाक्लो हिमपातले जनजीवन कष्टकर बन्दै जाँदा नार्पाभूमि सुनसान हुँदै गएको छ । नार्पाभूमि गाउँपालिका तिब्बतसँग सीमा जोडिएको र सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि मात्र पुगिने तथा उच्च हिमाली भागमा पर्छ । 

गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले हिमपात भएपछि स्थानीय बेँसी झर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम प्रतिकूलताले गर्दा फू गाउँका सात आठ गोठाला चौँरी र च्याङ्ग्रासहित क्याङमा झरिसके, नारका स्थानीय पनि झर्ने क्रममा छन् । हालसम्म ६० प्रतिशत जति त झरिसके बाँकी रहेका एक दुई दिनमै झरिसक्छन् ।” तीन हजार आठ सय मिटर उचाइमा रहेको च्याँखु र तीन हजार पाँच सय मिटर उचाइमा रहेको मेता अस्थायी प्रहरी चौकी पनि चिसोले गर्दा सदरमुकाम चामेमा झरिसकेको उहाँले जानकारी दिनुभयो । अत्यधिक चिसो हुने तथा पानी सबै जम्ने भएकाले सरकारी कार्यालयसँगै स्थानीय बेँसी झर्न थालेका हुन् । उहाँका अनुसार हुने खानेहरू सहरकेन्द्रित भए भने हुँदा खानेहरू तल तल बेँसी झर्दै गुजारा चलाइरहेका छन् । 

नार्पाभूमिका नार र फू गाउँ ज्यादै विकट मानिन्छ । स्थानीयजति सबै बेँसीतिर लागेपछि पालिकाले पनि सम्पर्क कार्यालय खोलेर सेवा दिँदै आएको छ । सूचना अधिकारी पाख्रिन भन्नुहुन्छ, “जनप्रतिनिधि कोही काठमाडौँ तथा कोही पोखरा त कोही लमजुङ सदरमुकाम बेँसीसहर गइसके । सेवाग्राही जहाँ छन् त्यहीँ सेवा दिने गरेका छौँ ।”

सूचना अधिकारी पाख्रिनले हिउँदका पुस, माघ र फागुन तीन महिना पालिका ठप्प हुने बताउनुभयो । उहाँले आफू पनि केही दिन सदरमुकाम चामेमा बसेर सेवा दिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत काठमाडौँ गइसकेको तथा जनप्रतिनिधि प्नि सहरकेन्द्रित भएको जानकारी दिनुभयो ।