• १२ साउन २०८१, शनिबार

‘शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिइने छ’

blog

रौतहटको माधवनारायण नगरपालिकको उत्तरमा गढीमाई नगरपालिका, दक्षिणमा दुर्गाभगवती गाउँपालिका, पश्चिममा देवाहीगोनाही तथा पूर्वमा सर्लाही जोडिएको छ । यो नगरपालिका तरकारी बिउबीजन उत्पादनमा अग्रस्थानमा रहेको छ । नगरपालिकाको विद्यमान समस्या, आगामी योजनाका बारेमा नगर प्रमुख वैजनाथप्रसाद यादवसँग गोरखापत्र दैनिकका गौर समाचारदाता सञ्जयकुमार मिश्रले गर्नुभएको कुराकानीको अंश : 

नगर प्रमुखको पदभार ग्रहण गरेपछि एक वर्षको अवधिलाई  तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

पदभार ग्रहण गरेको एक वर्ष निकै कठिन र सङ्घर्षपूर्ण रह्यो । जनप्रतिनिधिबिच आपसी तालमेल नहुँदा समयमा नगर परिषद् सम्पन्न हुन सकेन । जनप्रतिनिधिबिच पटक पटक बैठक गरेर समन्वय तथा सहमतिपछि नगर परिषद् सम्पन्न भई विकास निर्माणका कार्यलाई अगाडि बढाएका छौँ । शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नीतिगत सुधारमा लागेका छौँ ।

गत आर्थिक वर्षमा के कति विकास निर्माणको काम गर्न सक्नुभयो ? 

गत आर्थिक वर्षमा शिक्षातर्फ विद्यालय भवन निर्माण गरियो । विद्यालयमा फर्निचरलगायत विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएका पठनपाठनमा सुधारको प्रयास भयो । आइसिटी निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरियो ।   स्वास्थ्य भवन निर्माण, औषधीलगायत स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराइ स्वास्थ्य सेवालाई सुदृढीकरण बनाउने प्रयास भयो । विद्युत् प्राधिकरणको समन्वयमा सिँचाइको व्यवस्थापनका लागि १२ वटा ट्रान्सर्फमर जडान गरी निःशुल्क सिँचाइको व्यवस्था, निःशुल्क बिउबीजन वितरण, मलखाद्य उपलब्ध गराउन सकियो । भौतिक संरचनातर्फ सडकको जीर्णोद्धार तथा सडक ढलान, नाला निर्माण, सामुदायिक भवन निर्माण, कम्पाउन्ड वाल निर्माण, जीर्ण विद्यालय भवन निर्माण तथा मठमन्दिरको सम्बद्र्धन, प्रवर्धन, जीर्णोद्धारका कार्य गत वर्ष भए । पहिलाभन्दा अहिले नपाको अधिकांश बाटोघाटो पक्की तथा धुलोहिलोमुक्त बनाएका छौँ । 

समग्रमा जनताको इच्छा आकाङ्क्षा अनुसार काम गरिरहेका छौँ । कतिपय काम सम्पन्न भएको छ  भने कतिपय कार्य प्रगतिमा भइरहेको छ । 

नगरपालिकाको आफ्नो प्रशासनिक भवन निर्माणका लागि के गरिरहनुभएको छ ?

नगरपालिकाको आफ्नो भवन नरहेकाले अहिले भाडाको घरबाट कार्य सञ्चालन हुँदै आइरहेको छ । प्रशासनिक भवन निर्माणको लागि मैले आफ्नो पाँच कट्ठा जग्गा  दान गरेर नपाको नाममा रजिस्ट्रेसन पास गरिसकेको छु । अहिले भवन निर्माणको लागि टेन्डर प्रक्रिया सुरु गरिएको तथा मेरो कार्यकालमै प्रशासनिक भवन निर्माण हुने विश्वास छ । त्यस्तै विद्यालय भवन निर्माणका लागि पनि मैले जग्गा दान गरेको छु । ८ नं. वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा रहेको तथा त्यसका लागि वडाध्यक्षले पनि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।  

नगरपालिकाले नीतिगत सुधारका लागि के गरिरहेको छ ?

माधवनारायण नगरपालिकाले अहिलेसम्म ३८ वटा कानुन निर्माण गरिसकेको छ । स्वास्थ्य व्यवस्थापन, सहकारी व्यवस्थापन, न्यायिक समिति सञ्चालन, उपभोक्ता समिति गठन, शिक्षा व्यवस्थापन गरी ३८ वटा कानुन निर्माण गरिसकेको छ । शिक्षातर्फ स्थायी शिक्षक पदपूर्ति काम सम्पन्न भएको छ ।

पालिकाबाट जनताले पाउने सेवा सुविधा कतिको सहज बनाइएको छ ?

जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न प्रत्येक कर्मचारीलाई समय समयमा निर्देशन दिँदै आइरहेको छु । तसर्थ जनताको कामकाज सहज, सरल तथा नियमानुसार छिटोभन्दा छिटो गर्न विषयगत कर्मचारीलाई सजग बनाइरहेको छु ।  । कुनै पनि बहानामा जनतालाई दुःख दिने काम नगरपालिकाबाट हुँदैन । नियमानुसार काम छिटोभन्दा छिटो गरिदिएर जनतालाई खुसी पारेर घर पठाउनेतर्फ आफैँ निगरानी गर्दै आएको छु । नगरपालिकाको गौर चन्द्रपुर सडकपारि रहेका वडावासीलाई सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धालगायतलाई नजिक पर्ने शिवनगरस्थित बैङ्कबाट पनि भत्ता पाउने व्यवस्था गरेको छु । 

सुशासन प्रवर्धनको अवस्था कस्तो छ ?

लक्ष्य अनुसारको काम तथा उपलब्धि हासिल गर्न सुशासन अत्यन्तै महत्वपूर्ण हुन्छ । नगरपालिकाको बडापत्र अनुसार सेवा प्रवाह गर्न कटिबद्ध छु । सुशासनको प्रवर्धन बिनालक्ष्य हासिल गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेका छौँ । यसले नै कार्य प्रगतिका आधारमा नगरपालिका अग्रस्थानतर्फ उन्मुख भइरहेको छ । 

अहिले नगरपालिकामा के कस्ता चुनौती देखिरहनुभएको छ ? 

सडक, नाला निर्माणलगायत साँघुरो सडक फराकिलो गर्न मुख्य चुनौती रहेको छ । नगर क्षेत्रका मुख्य सडकदेखि सहायक सडकलाई फराकिलो गर्दा नगरवासीको घरटहरा हटाउन समस्या भएको थियो । घरटहरा हटाउन वादविवाद तथा कार्य अवरोधलाई व्यवस्थापन गरी सडक निर्माण गर्दा अलि समस्या महसुस भएको थियो तर त्यस्ता चुनौतीलाई समाधान गरी काम अगाडि बढाइएको छ । सबैसँग समन्वय गरेर सबैलाई सम्झाएर, बुझाएर त्यस्ता सडकलाई फराकिलो गरिएको छ ।

आगामी कार्ययोजना के के छन् ?

पिछडिएका वर्ग समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि आयआर्जन, सामाजिक परिचालन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, बालमैत्री स्थानीय शासनमा जोड  दिइने छ । त्यस्तै जलवायु परिवर्तनसँग अनुकूलित हुँदै, शुद्ध खानेपानी तथा पूर्ण सरसफाइमा ध्यान केन्द्रित गरिने छ ।  उद्यम विकास तथा सिपमूलक कार्यव्रmमबाट गरिबी न्यूनीकरण गर्नमा नगरपालिकाले ध्यान दिने छ । नगरपालिका आफैँ सुविधा सम्पन्न प्रविधिमैत्री, आपङ्गतामैत्री भवनबाट नगरवासीलाई दिइने सेवा सुविधालाई सुलभ बनाइने छ । 

अन्य राजनीतिक दलसँग कस्तो समन्वय र सहयोग भइरहेको छ ?

कार्यपालिकामा अन्य दलबाट निर्वाचित सदस्यसँगको निकै सुमधुर सम्बन्धका कारण नै हामीलाई सफलता मिल्दै आएको छ ।  निर्वाचनमा फरक फरक राजनीतिक दलका आधारमा भोट लिएर आए पनि निर्वाचित भएपछि सबैको उद्देश्य  जनतालाई सेवा सुविधा दिने नै हो ।  यसैलाई हामी सबैले मनन गरेका छौँ । कहिलेकाहीँ कार्यशैलीका कारण केही मतभेद देखिए पनि हामी छलफल र सहकार्यबाट त्यसलाई सुल्झाउँदै अगाडि बढिरहेका छौँ । 

अन्त्यमा, नगरवासीलाई के भन्न चाहनुहुन्छ ? 

छनोटमा परेका प्राथमिकता प्राप्त आयोजनाको पूर्णता, भौतिक पूर्वाधार निर्माणमा तीव्रता, नागरिकको जीवनस्तरमा परिवर्तन र दिगो तथा सन्तुलित विकासका सबै प्रयास अगाडि बढाउन सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।  यस्तो सहयोगबाट नगरलाई समृद्ध र सफल नगरपालिका बन्ने  विश्वास व्यक्त गर्दछु । यसका लागि सबै राजनीतिक दल, नगरवासीसँग सहकार्य एवं सहयोगको अपेक्षा राख्दछु ।