• १२ साउन २०८१, शनिबार

भूकम्पले भत्काएका मन अझ सङ्लिएन

blog

भीमा मल्ल

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर २२ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, पूर्णगाउँकी ९२ वर्षीय भीमा मल्लका लागि यो समय सबैभन्दा कष्टकर बनेको छ । भूकम्पले ४६ वर्षीय माइली छोरी गुमाएकी  मल्लको दिनरात त्रिपालमा बितिरहेको छ ।

वर्षाले जाडो बढाएको छ । त्रिपालभित्र आगो बाल्दा आगलागीको डर छ । त्रिपालको बासले स्वास्थ्य अवस्था झन् बिगिँरदै गएको छ । भीमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।” 

कान्छी छोरी सीताको साथमा बस्दै आउनुभएकी मल्लसँग जना सन्तान हुर्कंदा हुर्कंदै बचाउन नसकेको दुःखान्त कथा छ । मल्लले भन्नुभयो, “सानैमा तीन भाइ छोरा, तीन बहिनी छोरी बिमारले मरे, कुन भाग्यले बाँचेकी एक छोरी पनि भूकम्पले लैगयो ।” १० सन्तानलाई जन्म दिनुभएकी भीमाका अब तीन छोरी मात्र जीवित छन् । 

विगतका पीडा सम्झेर मल्ल अहिले मानसिक रूपमा समेत प्रभावित हुनुहुन्छ । सोही वडाका ४५ वर्षीय बिरु मल्लको दुःखान्त पनि कम छैन । भूकम्पले श्रीमती अमृतासहित पाँच सन्तान गुमाउनु भएका बिरुको मन अझै ठाउँमा छैन । बिरु त्यो रात सम्झनुहुन्छ, “त्यो  रात घरमा पाहुना आएका छोरीका परिवारसहित ११ जना थियौँ । भूकम्पले घर ढलेपछि म बेहोस भएछु । छ जनाको उद्धार भए पनि पाँच जना सधैँका लागि भूकम्पसँगै गइसकेका रहेछन् ।” उहाँसँग अहिले न पूर्ण परिवार छ, न त स्वस्थ शरीर । बिरु यतिबेला घर भएको स्थान छोडेर बाँकी छोराछोरीको साथमा मुग्रा गाउँमा त्रिपालको सहारामा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुन घरको आँगनमै मेरो संसार उजाडियो, त्यो घरअगाडि उभिन सक्दिनँ अब ।”

उहाँका २२ वर्षीय छोरा रमेशले भूकम्पको रातपछि बुवाको स्वास्थ्य अवस्था ठिक नभएको बताउनुभयो । बुवाको अवस्थाले बाँचेकाको मन झन् भासिएर आउने उहाँले बताउनुभयो । मनमा शोक र त्रासको अवस्था छ । आकास नै हल्लाए जस्तो भान हुने भएकोले मन सम्हालिने उपायको खोजीमा उहाँ हुनुहुन्छ ।

सोही ठाउँकी एकल महिला कली चन्दले भूकम्पपछि राम्रोसँग निद्रा पर्न छोडेको बताउनुभयो । छोरीको साथमा त्रिपालमा बस्दै आउनुभएकी चन्दलाई बास र गाँसको चिन्ताले सताएको छ । एक महिनासम्म जसोतसो दिनरात कटाए पनि बढिरहेको चिसो र राहत सकिएकोले अवस्था मुस्किल बनेको चन्दले बताउनुभयो । 

चन्दकी छोरी कल्पनाले खाने गाँस र बस्ने बास कसरी जोड्ने भन्ने पिरलोले आमा रातभरि ननिदाउने बताउनुभयो । कल्पनाले घर भत्किँदा भएको अन्नपात, कपडा सबै पुरिएको पीरले आमा त्यसै बर्बराउने गरेको बताउनुभयो । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले भूकम्पपछि मनोसामाजिक रूपमा समस्या बढिरहेको बताउनुभयो ।