• १२ साउन २०८१, शनिबार

आवास बनाउन रकम निकासा

blog

सल्यान समाचारदाता

सल्यान, मङ्सिर २२ गते । भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न रकम निकासा गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपियाँ निकासा भएको छ । सङ्घीय सरकारमार्फत पालिकाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न एक करोड ३० लाख रुपियाँ निकासा भएको  जनाइएको छ । 

गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार पहिलो किस्ता लिनका लागि २२ जना भूकम्पपीडितले आवश्यक प्रक्रिया अघि बढाएका छन् । रकम निकासासँगै अस्थायी आवास निर्माणले गति लिने छ । दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न प्राविधिकसहित विभिन्न पार्टी, संस्था, स्थानीय गरी चार सय स्वयंसेवक खटिएका छन् । चिसोका कारण त्रिपालमा बस्दै आएकाको ज्यान जोखिममा परेपछि अस्थायी आवासको लागि स्वयंसेवक खटिएका हुन् । 

दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले पालिकाको व्यवस्थापनमा स्वयंसेवकले अस्थायी आवास निर्माण गरिरहेको बताउनुभयो । उहाँका अनुसार अस्थायी आवास निर्माणमा खटिएका प्राविधिक तथा स्वयंसेवकले कामको बाँडफाँट गरेर कोही शौचालय मर्मत, भत्किएको घरको सामग्री पन्छाउने, चर्किएको घर भत्काउन र अस्थायी आवास निर्माणमा जुटेका छन् ।

त्रिपालमा आश्रय लिइरहेका महिला, बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती बिरामी पर्न थालेपछि अस्थायी आवास निर्माण कार्यमा स्वयंसेवक खटाइएको हो ।

भूकम्पले दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ । दार्मामा भूकम्पबाट एक हजार १७९ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।  एक हजार ८१ घर आंशिक क्षति भएका छन् । पालिकामा २१ वटा सामुदायिक विद्यालय, पाँच वटा स्वास्थ्य संस्था र तीन वटा वडा कार्यालयमा क्षति पुगेको छ । दुई जनाको मृत्यु र  आठ जना घाइते भएको बताइन्छ । एक हजार १७९ घरधुरीका छ हजार ३१८ जनसङ्ख्या विस्थापित भएका छन् ।