• २२ वैशाख २०८१, शनिबार

शिक्षकको दरबन्दी मिलान

blog

अत्तरिया समाचारदाता

अत्तरिया, मङ्सिर २२ गते । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ । 

बाल विकास र प्राथमिक तहमा २९/२९ जना, निम्न माध्यमिक तहमा ११ र माध्यमिक तहमा छ जना शिक्षक दरबन्दी मिलानमा परेका छन् । चार जना विद्यालय सहयोगीको पनि दरबन्दी मिलान गरिएको छ । 

सामुदायिक विद्यालयको सुधारका लागि यो वर्षबाट नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु भएको छ । यस अन्तर्गत ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना अगाडि बढेको महाशाखा प्रमुख खातीले जानकारी दिनुभयो ।