मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर २१ गते । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द गरिएको छ ।
सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङका अनुसार मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको र निर्धारित समयसीमाभित्र सडकको काम पूरा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको हो ।
वडाध्यक्ष तितुङले काठमाडौँ आवतजावत गर्ने सबैभन्दा छोटो मार्ग भएकाले सुमोलगायतका साना सवारीसाधनको चाप अधिक हुँदा काममा अवरोध पुग्ने बताउनुभयो । उहाँले बिहीबारबाट आगामी पुस २१ सम्मका लागि सवारीसाधन आवतजावत बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी दोभान, घट्टेखोला, चखेल, मकबारी, देउरालीसँगै मातातीर्थमा निर्माणको काम भइरहेको छ । विशेष गरी मातातीर्थ खण्डका मोडहरूमा ढलान सुरु गरिने र पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने भएको बताइन्छ ।
यसअघि वैशाखमा महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिका क्रममा मकवानपुरतर्फको महालक्ष्मीखोला–चखेल–देउराली सडकखण्ड बन्द गरिएको थियो । प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्डको काम पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत भइरहेको छ ।