• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड धनगढी आउनुहुँदै

blog

भवानी ऐर 

गोदावरी (कैलाली), मङ्सिर २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोल मैदानमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन गर्ने हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आउन लाग्नुभएको आयोजकले जनाएको छ । यसअघि कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम निश्चित भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो– “प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरूले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य सङ्घले पनि यस क्षेत्रका व्यवसायीहरूका समस्या प्रधानमन्त्री समक्ष राख्नेछ ।” 

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिनुभयो । विगतका वर्षझैँ यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका मागहरूको बारेमा जानकारी गराउने र मागका बुँदाअनुसार वजन भएको फूलमाला पहिराउने सङ्घको तयारी छ । यस पटक दश वटा मुख्य माग रहेकाले १० किलो फूलको माला बोकाइने उहाँको भनाई छ । 

योसँगै राष्ट्रप्रमुख एवं नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदाअनुसार फूलमाला बोकाउने सुदूरपश्चिमीलेको आन्दोलनले सत्र वर्ष पार गर्नेछ । माग प्राप्तिका लागि बन्द हडताल र तोडफोड चलिरहेका बेला २०६३ सालमा पृथक रुपले आन्दोलनको अगुवाइ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवमार्फत सुरु गरेको थियो । निरन्तर चल्दै आएको यो आन्दोलन सभ्य र शालीन मात्रै नभई प्रभावकारीसमेत भएको छ ।