• १२ साउन २०८१, शनिबार

अध्यक्ष ओलीद्वारा कालिका भगवती मन्दिरको दर्शन

blog

बागलुङ कालिका भगवतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेता र कार्यकर्ता । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, मंसिर २१ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङस्थित कालिका भगवती मन्दिरको दर्शन र पूजा गर्नुभएको छ । अध्यक्ष ओलीसहितका नेताहरू मन्दिर पुगेर आज पूजाआजा र दर्शन गर्नुभएको हो । 

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौँ दिन बिहीबार बागलुङ आउनुभएका अध्यक्ष ओलीले मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो । साथै उहाँले मन्दिर परिसरको अवलोकन समेत गर्नुभएको थियो । 

मन्दिर दर्शन गर्न जानुभएका अध्यक्ष ओलीलाई कालिका भगवती गुठी सञ्चालक समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो । मन्दिरको दर्शन गरेपछि संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले कालिका भगवती मन्दिर मुलुककै प्रसिद्ध धार्मिकस्थल भएकाले यसको अझ धेरै प्रचार–प्रसार र पूर्वाधार निर्माण गरेर धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्ने बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘‘बागलुङ कालिका, पञ्चकोट, गलेश्वर धाम र मुक्तिनाथको एकसाथ विकास गरेर कालिगण्डकी कोरिडोरलाई धार्मिक मार्गका रूपमा विकास गर्न सकिन्छ ।’’