रजनी योगी
सुर्खेत, मङ्सिर २१ गते । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने बताउनुभएको छ ।
महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठकमा मन्त्री जिसीले यस्तो बताउनुभएको हो । महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा राष्ट्रिय महिला आयोगले सुर्खेतको वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा मन्त्री जिसीले महिला अधिकारको सचेतना साथै महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्ने बताउनुभयो । उहाँले सचेतना अभावका कारण हिंसा सहेर घरमै बस्ने, ज्यालादारीमा विभेद गर्ने, सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका कारणले महिलामाथि हिंसा भइरहेको जानकारी दिनुभयो ।
महिलामा पर्ने विविध समस्याको न्यूनीकरणका लागि सरकार गम्भीर रहेको जिकिर गर्नुभयो । महिला अधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्नेमा उहाँको जोड रहेको छ । त्यस्तै मन्त्री जिसीले महिला अधिकारसम्बन्धी राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसाको अवस्था बढ्दोक्रममा रहेको बताउनुभयो । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा महिला हिंसा बढी हुनेगरेको भए पनि न्यायको पहुँचमा कमै मात्र आउनेगरेको उहाँको भनाइ छ ।
लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरीका सबै संयन्त्र परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । चालु आवको यो अवधिसम्म प्रहरीमा पाँचसय तीन उजुरी दर्ता भएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा छन् ।