• १२ साउन २०८१, शनिबार

गोली लागेर प्वालैप्वाल भएको पोल बेनी ल्याइँदै

blog

ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा राखिएको पोल बेनी ल्याउने तयारीमा । तस्बिर सौजन्य : आलोक बानियाँ

साधन घर्ती 

म्याग्दी (दरबाङ), मङ्सिर २१ गते । २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ । 

बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो ।  

भिडन्तका बेला क्रसफायरमा परी छिया–छिया भएको बिजुलीको उक्त पोल २०६३ सालमा ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा लगेर सुरक्षित गरिएको थियो । पछि म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दैआएका थिए ।


यसअघि पनि मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले  जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालीन र ऐतिहासिक महत्त्व राख्ने बिजुलीको पोल बेनी लग्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । 

अध्यक्ष दीक्षितले पोल आज बेनी पठाउन लागिएको बताउनुभयो । प्रक्रिया पूरा गरेर बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शङ्कर पौडेलको रोहबरमा पठाउन लागिएको जानकारी दिनुभयो ।

पोल फिर्ता ल्याउन लागिएको बिजुलीको पोललाई बेनी नगरपालिका वडा ७ मा बन्न लागेको शान्तिपार्कमा राखिने बताइएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले आज बिहीबार राति सो पोल बेनी ल्याइने जानकारी दिनुभयो । ‘‘धेरै समयको प्रयास र पहलपछि ऐतिहासिक विद्युतीय पोल आज राति बेनी ल्याइनेछ’’ उहाँले भन्नुभयो ।