• १२ साउन २०८१, शनिबार

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

blog

काठमाडौं, मङ्सिर २१ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकाेलोजी विभागले ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा  ल्याएको छ। 

विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाउन र मृत्युदर कम गर्ने उद्देश्यले सेन्टरको स्थापना गरिएको हो।

 बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र)को उद्घाटन गर्नुभएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रि.वि. शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताउनुभयो। 



देशका सात सय ५३ पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ बिगतमा एकै साथ शिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका विषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताउनुभयो। 

आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविष्यमै स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतले दाबी गर्नुभयो। 

‘‘स्वास्थ्य क्षेत्रमा वि.सं. २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी बढ्न सकेको छैन’’, मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो पटक धेरै मेहनतपछि दरबन्दी थप हुने कुराको टुङ्गो लागेको छ। सङ्ख्याका विषयमा छिट्टै जानकारी आउला। ’’

 नेपालमा बर्सेनि छ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिनुभयो। 

कार्यक्रममा डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताउनुभयो। उहाँले विष सेवनपछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दाबी गर्नुभयो।