• १२ साउन २०८१, शनिबार

पुरुष हिंसा बढ्दै

blog

लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत नेपालगन्जमा आयोजना गरिएको कार्यक्रम । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर २१ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि चलिरहेकै बेला बाँकेका ४० जना पुरुषले प्रहरीमा आफूहरू पनि हिंसामा परेको उल्लेख गर्दै उजुरी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्म जिल्लामा घरेलु हिंसामा परेको भन्दै ३३२ वटा उजुरी महिलाहरूले दिएका छन् । सोही अवधिमा ४० जना पुरुषले पनि आफू अन्यायमा परेको भन्दै उजुरी दिएको प्रहरीको तथ्याङ्क छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले अधिकांश हिंसामा परेका उजुरी महिलाको तर्फबाट आउने गरेको भए पनि हाल पुरुषको तर्फबाट पनि उजुरी उल्लेख्य मात्रामा आउन थालेको बताउनुभयो । उहाँले ती उजुरीमाथि अनुसन्धान र छलफलपछि छिनोफानो गर्ने बताउनुभयो । कतिपय उजुरीकर्ताहरू उजुरी दिएपछि सम्पर्कमा नै नआउने गरेको प्रहरी निरीक्षक विष्टका भनाइ छ ।  

प्रहरीका अनुसार पुरुषले दिने केही उजुरी प्रतिशोधका लागि मात्र हुने जनाउँदै सबै उजुरीमाथि गम्भीरतापूर्वक अनुसन्धान हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीले पछिल्लो समयमा पुरुषहरू पनि हिंसाको सिकार हुन थालेपछि त्यसले नै समाजको अवस्था चित्रण गर्न थालेको जनाउँदै प्रहरीले हिंसासँग जोडिएका सबै घटनालाई सूक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरेको बताउनुभयो । "महिला र पुरुष दुवैले दिएका हिंसाका घटनाका उजुरीलाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै आएका छौँ । यो सवालमा प्रहरी सचेत र सजग छ", उहाँले भन्नुभयो । अहिले अभियानको क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेले विभिन्न सरोकारवाला पक्षसँगको सहकार्यमा नेपालगन्जमा दैनिकजसो लैङ्गिक हिंसाका विरुद्ध अन्तरक्रिया र कार्यक्रम आयोजना गरिएको छ । 

अन्तरक्रियामा विभिन्न सरोकारवालालाई राखेर लैङ्गिक हिंसाका बारेमा सचेतना फैलाउने कामहरू भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । उहाँले हिंसाका घटनालाई प्रहरी, प्रशासनले गम्भीरतापूर्वक लिने भएकाले त्यस्ता घटनाबाट पीडित भएकालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।