• १५ मंसिर २०८१, शनिबार

अतिक्रमित फुटपाथमा चल्यो डोजर

blog

अतिक्रमित संरचना भत्काइँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर मङ्सिर २१ गते । तुलसीपुर बजारको फुटपाथ क्षेत्रको अतिक्रमण हटाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रको फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर सफा गराउन सुरु गरेको छ । 

उपमहानगरपालिकाले कार्यालय क्षेत्रमै पर्ने गलाइनबाट फुटपाथमा निर्माण गरिएका संरचना डोजर चलाएर भत्काएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले फुटपाथ क्षेत्र पैदलयात्रुलाई हिड्डुल गर्न कठिनाइ भएपछि अतिक्रमण हटाउन सुरु गरिएको बताउनुभयो । 

उहाँले बजारक्षेत्र सफा राख्न र पैदलयात्रुलाई हिँड्न सहज बनाउन फुटपाथ क्षेत्रमा  टायल बिच्छ्याउन सुरु गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका बस्ती विकास शाखाका प्रमुख हिमाल शर्माले नालामाथि फुटपाथमा बनाइएका सम्पूर्ण संरचना हटाउन थालिएको बताउनुभयो । 

उहाँले बजार क्षेत्रको सुन्दरता कायम राख्नका लागि ती संरचना हटाउन थालिएको बताउनुभयो । पालिकाले संरचना हटाउनका लागि सूचना जारी गर्दै आए पनि फुटपाथमै संरचना बनाएर व्यापार गर्न थालेपछि पालिकाले डोजर चलाएर हटाउन सुरु गरेको हो ।