• १२ पुस २०८१, शुक्रबार

कोशीमा वर्षा र हिमपात हुँदा अरू प्रदेशको मौसम कस्तो रहला ?

blog

काठमाडौँ, मङ्सिर २१ गते । अहिले नेपालमा पश्चिमी वायु र छत्तिसगढमा अवस्थित न्यूनचापीय प्रणालीको कारण आंशिक प्रभाव परेको छ । जसका कारण चिसो बढेको छ । 
मौसमविज्ञान विभाग  अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  कर्णाली र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले मौसम सफा छ । 
 विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशका सबै भूभाग र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ । यो क्रम बेलुकासम्म नै रहने उहाँको भनाइ छ । 
कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “अहिले पश्चिमी वायु र भारतको छत्तिसगढमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालका अधिकांश स्थानमा मौसम बदली भएको छ । आज दिनभर कोशी प्रदेशका सबै भूभागमा र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा हुने देखिन्छ ।” 
तत्काल  ठुलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । उपत्यकामा मौसम धुम्म भए पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो। भोलिदेखि भने मौसममा सुधार हुँदै जाने नगरकोटीको भनाइ छ ।